राष्ट्र बैंकले २१ अर्ब बराबरको नयाँ नोट छाप्दै, ५० को नोटका लागि अन्तर्राष्ट्रिय बोलपत्र आह्वान
काठमाडौँ, ९ साउन । नेपाल राष्ट्र बैंकले ५० रुपैयाँ दरका ४२ करोड थान नयाँ नोट छाप्नका लागि प्रक्रिया अघि बढाएको छ। कुल २१ अर्ब रुपैयाँ बराबरको उक्त नोट छपाइका लागि बैंकले अन्तर्राष्ट्रिय बोलपत्र (टेन्डर) आह्वान गरेको हो।
राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागले एक सूचना प्रकाशित गरी पूर्वयोग्यता सूचीमा रहेका अन्तर्राष्ट्रिय सेक्युरिटी प्रिन्टरहरूबाट प्रस्ताव मागेको छ। छनोट हुने कम्पनीले नोटको डिजाइन, छपाइ, आपूर्ति तथा तोकिएको समयभित्र डेलिभरीको सम्पूर्ण जिम्मेवारी लिनुपर्नेछ।
सूचनाअनुसार, इच्छुक कम्पनीहरूले सन् २०२५ सेप्टेम्बर ८ को दिउँसो १२ बजेभित्र आफ्नो बोलपत्र पेस गरिसक्नुपर्नेछ। प्राप्त बोलपत्र सोही दिन दिउँसो १ बजे खोलिनेछ।
बोलपत्र प्रक्रियामा सहभागी हुन चाहने कम्पनीले २० हजार रुपैयाँ वा सो बराबरको विदेशी मुद्रा शुल्क तिरेर बोलपत्र फारम खरिद गर्न सक्नेछन्। साथै, बोलपत्र पेस गर्दा न्यूनतम ४ करोड रुपैयाँ बराबरको जमानत (बिड सेक्युरिटी) अनिवार्य रूपमा पेस गर्नुपर्ने सर्त राखिएको छ।