लगातारको वर्षाले गुल्मी र बैतडीका राजमार्ग अवरुद्ध, जनजीवन प्रभावित

काठमाडौँ, १३ साउन । केही दिनदेखि भइरहेको अविरल वर्षाका कारण देशका पहाडी जिल्लाहरूमा यातायात र जनजीवन प्रभावित बनेको छ। गुल्मी र बैतडीमा बाढी र पहिरोले मुख्य राजमार्गहरू अवरुद्ध हुँदा सयौँ यात्रु अलपत्र परेका छन्।

गुल्मीमा गए रातिदेखिको मुसलधारे वर्षाले रिडी–वामीटक्सार सडकखण्ड ठप्प भएको छ। जिल्ला प्रहरी कार्यालय, गुल्मीका सूचना अधिकारी गङ्गाबहादुर सारुका अनुसार, सत्यवती गाउँपालिका–६ स्थित डहरेखोलामा लेदोसहितको बाढी आएपछि सडक पूर्ण रूपमा बन्द भएको हो। सडक अवरुद्ध हुँदा रिडी हुँदै बागलुङको बुर्तिवाङसम्म चल्ने सवारीसाधन सञ्चालन हुन सकेका छैनन्। प्रहरीले सडक खुलाउने प्रयास गरे पनि लगातारको वर्षाले कठिनाइ भइरहेको जनाएको छ।

यसैबीच, बडिगाड खोलामा पानीको सतह बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालयले तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन र सुरक्षित स्थानमा रहन आग्रह गरेको छ। जिल्ला विपद् व्यवस्थापन समितिले जिल्लाका १८० भन्दा बढी स्थानलाई बाढीपहिरोको उच्च जोखिममा राखेको छ।

त्यस्तै, बैतडीमा पनि पहिरोले दशरथचन्द राजमार्ग अवरुद्ध भएको छ। जिल्ला प्रहरी कार्यालय, बैतडीका प्रवक्ता बलराम पाण्डेयका अनुसार पाटन नगरपालिका–४ को जेउडेमा सोमबारदेखिको वर्षाले पहिरो खस्दा राजमार्ग बन्द भएको हो।

आज बिहान पहिरो खसेपछि सवारीसाधनहरू बीच बाटोमै रोकिएका छन्। सडक विस्तारका क्रममा खनिएको जेउडे मोडमा पहिरो खस्ने क्रम बारम्बार भइरहेको र पहिरोले नजिकैको बिजुलीको पोलसमेत जोखिममा पारेको प्रहरीले जनाएको छ। अवरुद्ध सडक खुलाउने प्रयास जारी रहेको छ।