विकास आयोजनाका काम समयमै सक्न कार्यवाहक प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ, २१ साउन । कार्यवाहक प्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले विकास निर्माणका आयोजनाहरू निर्धारित समयसीमाभित्रै सम्पन्न गर्न सरोकारवाला निकायलाई कडा निर्देशन दिनुभएको छ।

स्थानीय पूर्वाधार तथा विकास विभागको गत आर्थिक वर्षको प्रगति केवल ६५ प्रतिशतमा सीमित भएकोमा असन्तुष्टि जनाउँदै उहाँले विगतका कमजोरीबाट सिकेर काम गर्न आग्रह गर्नुभयो।

विभागको वार्षिक प्रगति समीक्षा गोष्ठीलाई आज सम्बोधन गर्दै उहाँले भन्नुभयो, “जनता विकासका काम समयमै सकियोस् भन्ने चाहन्छन्। उनीहरूको चाहना पूरा गर्नुहोस्, मन्त्रालयले आवश्यक सहयोग गर्छ।”

सडक, पुल, झोलुङ्गे पुल, र स्थानीय तहका भवन जस्ता पूर्वाधार निर्माणको जिम्मा पाएको विभागलाई चालु आर्थिक वर्षका योजनाहरू प्रभावकारी रूपमा र समयमै सुरु गर्न उहाँले निर्देशन दिनुभयो। “विकट स्थानका झोलुङ्गे पुलदेखि अन्य पूर्वाधारसम्म, सबै काम तोकिएको समयमा गुणस्तरीय रूपमा सम्पन्न हुनुपर्छ,” उहाँले जोड दिनुभयो।

कार्यक्रममा मन्त्रालयका सचिव गोपाल सिग्देलले आयोजनाहरूमा देखिने गरेको दोहोरोपन (डुप्लिकेसन) हटाउन प्रदेश र स्थानीय तहसँग समन्वय गर्न निर्देशन दिनुभयो। विभागका महानिर्देशक महेशचन्द्र न्यौपानेले गत आर्थिक वर्षको वार्षिक प्रगति विवरण प्रस्तुत गर्नुभएको थियो।