भोटेकोशी बाढीले चार प्रहरी युनिटका २६ प्रहरी सम्पर्कविहीन, नुवाकोट र धादिङमा ८ शव फेला
काठमाडौँ, १० भदौ । रसुवास्थित भोटेकोशी नदीमा आज बिहान अचानक आएको भीषण बाढीमा परी २६ जना प्रहरी कर्मचारीहरू सम्पर्कविहीन भएका छन्।
केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्लेका अनुसार रसुवाको टिमुरे, स्याफ्रुबेँसी, सिम्ले र मैलुङमा रहेका प्रहरी युनिटहरूमा कार्यरत २६ जना प्रहरी कर्मचारी बाढीपछि सम्पर्कविहीन भएका हुन्। सो क्षेत्रमा सञ्चार सेवा पूर्ण रूपमा अवरुद्ध भएकाले उनीहरूसँग सम्पर्क स्थापित गर्न कठिनाइ भइरहेको छ।
यसैबीच, बाढीपछिको तीव्र खोज तथा उद्धारका क्रममा नुवाकोट र धादिङका विभिन्न नदी किनारहरूमा हालसम्म आठ जनाको शव फेला परेको प्रहरीले जनाएको छ। मृत फेला परेकाहरूको सनाखत गर्ने कार्य भइरहेको छ।
बाढीले भोटेकोशी र त्रिशूली नदीको तटीय क्षेत्रका बस्तीहरू, पक्की तथा झोलुङ्गे पुलहरू र सडक पूर्वाधारमा ठूलो क्षति पुर्याएको छ। नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाको टोलीले प्रभावित क्षेत्रमा खोजी तथा उद्धार कार्य जारी राखेका छन् भने क्षतिको विस्तृत विवरण सङ्कलन गर्ने प्रयास भइरहेको छ।