रसुवा बाढीको असर सेयर बजारमा: जलविद्युत् समूह करिब ३ प्रतिशतले ओर्लिँदा नेप्से परिसूचक ३६ अङ्कले घट्यो
काठमाडौँ, १० भदौ । रसुवा र भोटेकोशी क्षेत्रमा आएको आकस्मिक बाढी र पहिरोले जलविद्युत् आयोजनाहरूमा क्षति पुर्याएको समाचार सार्वजनिक भएसँगै त्यसको प्रत्यक्ष प्रभाव बुधबारको धितोपत्र बजारमा देखिएको छ। बाढीले जलविद्युत् गृह तथा प्रसारण लाइनहरू अवरुद्ध भएको खबरले नेप्सेमा सूचीकृत जलविद्युत् कम्पनीहरूको सेयर मूल्य उच्च दरले घटेको छ।
आज रसुवागढी हाइड्रोपावर कम्पनी र मैलुङ्ग खोला जलविद्युत् कम्पनीको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ। यस्तै, त्रिशूली जलविद्युत् कम्पनीको सेयर मूल्य करिब १३ प्रतिशत, माथिल्लो मैलुङ्ग खोला जलविद्युत्को साढे ११ प्रतिशतभन्दा बढी र साञ्जेन जलविद्युत् कम्पनीको सेयर मूल्य ११ प्रतिशतभन्दा बढीले ओरालो लागेको छ।
चौतर्फी सेयर बिक्रीको चाप बढेपछि नेप्से परिसूचक ३५.९२ अङ्कले घटेर २,५५८.३५ विन्दुमा झरेको छ। यस्तै, सेन्सेटिभ इण्डेक्स ६.०० अङ्क, फ्लोट इण्डेक्स २.६१ अङ्क र सेन्सेटिभ फ्लोट इण्डेक्स २.०९ अङ्कले घटेको छ।
परिसूचक घटे पनि आज कारोबार रकममा भने अघिल्लो दिनको तुलनामा वृद्धि भएको छ। मङ्गलबार रु ४ अर्ब १० करोडको सेयर कारोबार भएको बजारमा आज ३४८ कम्पनीको ६१ हजार ४४२ पटकको कारोबारमा रु ४ अर्ब ७७ करोड ३८ लाख ५७ हजार बराबरको १ करोड ३५ लाख ८२ हजार कित्ता सेयर खरिदबिक्री भएको छ।
यस दिन पनि सर्वोत्तम पेन्ट्सको सेयर मूल्यमा सकारात्मक सर्किट लागेर प्रतिकित्ता रु १,२१२.९० मा अन्तिम कारोबार भएको छ। यस्तै, अप्पर हेवाखोला हाइड्रोपावर कम्पनीको सेयर मूल्य करिब साढे १० प्रतिशतले बढेको छ।
कारोबार रकमका आधारमा आज चिलिमे हाइड्रोपावर कम्पनी रु २० करोड ५६ लाखको कारोबारसहित शीर्ष स्थानमा रह्यो। यस्तै, सानिमा मिडिल तमोर हाइड्रोपावरको करिब साढे १९ करोड र साहस ऊर्जाको रु १६ करोडभन्दा बढीको सेयर खरिदबिक्री भएको छ।
आज कारोबार भएका १३ वटै उपसमूहको परिसूचकमा गिरावट आएको छ। तीमध्ये निर्जीवन बीमा उपसमूहको परिसूचक सर्वाधिक ३.९० प्रतिशतले घट्दा जलविद्युत् उपसमूहको परिसूचक २.८४ प्रतिशतले ओरालो लागेको छ। वित्त, लगानी, जीवन बीमा र अन्य उपसमूहको परिसूचकमा पनि १ प्रतिशतभन्दा बढीको ह्रास देखिएको छ।