भोटेकोशीको बाढीले १२ विद्युत्गृहमा क्षति, ४३१ मेगावाट विद्युत् राष्ट्रिय प्रणालीबाट विच्छेद
काठमाडौँ, १० भदौ । भोटेकोशी नदीमा आएको बाढीका कारण ११ जलविद्युत् गृह र एउटा सौर्य ऊर्जा (सोलार) गृह गरी कुल १२ वटा विद्युत् उत्पादन केन्द्रहरूमा क्षति पुगेको छ। यसबाट मुलुकको राष्ट्रिय विद्युत् प्रणाली (ग्रिड) बाट ४३१.१ मेगावाट विद्युत् विच्छेद भएको छ।
नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता राजन ढकालले भोटेकोशीको बाढीका कारण छवटा जलविद्युत् र एक सोलार गृहमा प्रत्यक्ष क्षति पुगेको र बाँकी जलविद्युत् गृहहरू सुरक्षाका कारण उत्पादन बन्द भई राष्ट्रिय प्रणालीबाट अलग भएको जानकारी दिनुभयो। यस विनाशकारी बाढीले राष्ट्रिय प्रसारण लाइनका संरचनामा समेत क्षति पुर्याएको छ।
बाढीबाट प्रभावित विद्युत्गृहहरू र क्षमता:
रसुवागढी जलविद्युत् आयोजना: १११ मेगावाट
सलासुङ्गी (सान्जेन): ७८ मेगावाट
अपर त्रिशूली थ्री ए: ६० मेगावाट
सान्जेन: ४२.५ मेगावाट
सोलार प्रणाली: २५ मेगावाट
त्रिशूली जलविद्युत्: २४ मेगावाट
चिलिमे: २२ मेगावाट
लाङटाङ: २० मेगावाट
अपर साञ्जेन: १४.८ मेगावाट
अपर मैलुङ: १४.८ मेगावाट
देवीघाट: १४ मेगावाट
मैलुङ: ५ मेगावाट
विद्युत्गृहहरू बन्द भएसँगै राष्ट्रिय प्रणालीमा विद्युत् आपूर्ति कम भएको छ। प्राधिकरणले प्रणालीलाई सन्तुलित राख्न वैकल्पिक व्यवस्थापन गरिरहेको र बाढीको बहाव कम हुनासाथ प्रसारण लाइन मर्मत तथा क्षतिग्रस्त विद्युत्गृहहरूको प्राविधिक मूल्याङ्कन थालिने प्रवक्ता ढकालले जानकारी दिनुभयो।