भूपरिवेष्टित राष्ट्रका साझा हितबारे प्रधानमन्त्री ओली र राष्ट्रसंघकी उपमहासचिवबीच छलफल
तुर्कमेनिस्तान, २१ साउन। भूपरिवेष्टित विकासशील राष्ट्रहरू (LLDCs) को तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलनमा सहभागी हुन तुर्कमेनिस्तान पुग्नुभएका प्रधानमन्त्री केपी शर्मा ओलीसँग संयुक्त राष्ट्रसंघकी उपमहासचिव रबाब फातिमाले शिष्टाचार भेटवार्ता गर्नुभएको छ।
उपमहासचिव फातिमा अतिकम विकसित, भूपरिवेष्टित विकासशील तथा साना टापु विकासशील मुलुकका लागि उच्च प्रतिनिधि हुनुहुन्छ।
सम्मेलनकै क्रममा भएको उक्त भेटमा उहाँहरूबीच भूपरिवेष्टित राष्ट्रहरूले भोगिरहेका साझा चुनौती, व्यापार तथा पारवहन सहजीकरण, कनेक्टिभिटी र दिगो विकासका लक्ष्यहरू हासिल गर्ने विषयमा केन्द्रित रहेर छलफल भएको थियो।
भेटका क्रममा प्रधानमन्त्री ओलीले नेपालजस्ता भूपरिवेष्टित राष्ट्रहरूले भोग्नुपरेका संरचनात्मक समस्या र त्यसको समाधानका लागि अन्तर्राष्ट्रिय समुदायको बलियो साथ र सहयोग आवश्यक रहेको बताउनुभयो। उहाँले नेपाल सरकारले पूर्वाधार विकास, व्यापार सहजीकरण र आर्थिक सुधारमार्फत मुलुकको विकासलाई गति दिन खोजेको जानकारी गराउनुभयो। साथै, नेपालको अतिकम विकसित मुलुकबाट स्तरोन्नति हुने प्रक्रियालाई सहज बनाउन संयुक्त राष्ट्रसंघको भूमिकामाथि उहाँले जोड दिनुभएको थियो।
जवाफमा, उपमहासचिव फातिमाले भूपरिवेष्टित राष्ट्रहरूका मुद्दालाई अन्तर्राष्ट्रिय मञ्चमा सशक्त रूपमा उठाउन नेपालले खेलेको नेतृत्वदायी भूमिकाको प्रशंसा गर्नुभयो। उहाँले नेपालजस्ता सदस्य राष्ट्रहरूका समस्या समाधान गर्न र उनीहरूको विकास प्रयासमा सघाउन संयुक्त राष्ट्रसंघ सधैँ प्रतिबद्ध रहेको विश्वास दिलाउनुभयो।
यो भेटले भूपरिवेष्टित राष्ट्रहरूका साझा एजेन्डालाई अगाडि बढाउन र नेपालको कूटनीतिक सक्रियतालाई थप बलियो बनाउन मद्दत पुगेको विश्वास गरिएको छ।