उत्तराखण्ड बाढीमा फसेका नेपालीको उद्धारका लागि कूटनीतिक पहल, प्रधानमन्त्रीद्वारा दुःख व्यक्त

काठमाडौँ, २३ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतको उत्तराखण्डमा आएको विनाशकारी बाढीमा फसेका नेपाली नागरिकहरूको उद्धारका लागि तत्काल कूटनीतिक पहल सुरु गरिएको बताउनुभएको छ ।

शुक्रबार सामाजिक सञ्जालमार्फत उहाँले बाढीमा १७ जनाभन्दा बढी नेपाली परेको खबरले आफूलाई दुःखी बनाएको उल्लेख गर्दै उनीहरूको सुरक्षाका लागि सरकारले चासो देखाएको स्पष्ट पार्नुभएको हो ।

प्रधानमन्त्री ओलीले छिमेकी राष्ट्र भारतमा भएको जनधनको क्षतिप्रति चिन्ता व्यक्त गर्नुभएको छ । उहाँले आफ्नो सामाजिक सञ्जालमा लेख्नुभएको छ, “छिमेकी मित्रराष्ट्र भारतको उत्तराखण्डमा बाढीले ठूलो जनधनको क्षति पुगेको दुःखद खबरले चिन्तित छु। बाढीमा १७ जना भन्दा बढी नेपाली नागरिक पनि परेको खबर आएको छ ।”

उहाँले उद्धार प्रयासबारे जानकारी दिँदै थप्नुभयो, “उनीहरूको उद्धारको लागि दूतावास मार्फत तत्काल कूटनीतिक छलफल भएको थियो।”

प्रधानमन्त्री ओलीले बाढीका कारण ज्यान गुमाउने सबैप्रति श्रद्धाञ्जली अर्पण गर्दै पीडित परिवारजनमा समवेदना प्रकट गर्नुभएको छ ।