मन्त्रीहरुसँग कार्यसम्पादन सम्झौतामा प्रधानमन्त्रीको निर्देशन : ‘नयाँ र युगान्तकारी कामको योजना ल्याउनुस्’

काठमाडौं, २९ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ र युगान्तकारी (गेम चेन्जर) काम गर्न सबै मन्त्री र सचिवहरुलाई निर्देशन दिनुभएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा मन्त्रालयगत वार्षिक प्रगति समीक्षा तथा कार्यसम्पादन सम्झौता आदानप्रदान कार्यक्रममा प्रधानमन्त्री ओलीले उत्पादकत्व बढाउने र गरिबीको दुष्चक्रबाट मुलुकलाई बाहिर ल्याउने गरी तीव्रताका साथ काम गर्नुपर्नेमा जोड दिनुभएको हो ।

उहाँले आगामी मङ्सिरभित्र दैलेखको मिथेन ग्यासको परीक्षण उत्पादन गराउन, चीनमा निर्यात गर्ने गरी सबै किसानलाई व्यावसायिक भैँसी पालन गराउन, खेतीमा अग्र्यानिक अभियान सञ्चालन गर्न, सामाजिक सञ्जाललाई कानुनी दायरामा ल्याउन, ज्येष्ठ नागिरक संवाद भवनहरु बनाउन, दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिता समयमा आयोजना गर्न, कीर्तिपुर क्रिकेट रंगशाला छिटो निर्माण सक्न, भक्तपुरमा ठुलो रंगशाला निर्माणको तयारी गर्न सम्बन्धित मन्त्रीहरुलाई ध्यानाकर्षण गराउनुभयो ।

उहाँले अन्तरिक्षमा नेपालको आफ्नै अर्बिटलाई उपयोग गर्न, आफ्नै रेल र सेक्युरिटी प्रेस सञ्चालनमा ल्याउन आग्रह गर्दै रेलवे विस्तार गर्न, सुनकोसी–मरिन, भेरी–बबई तथा काठमाडौँ÷तराई मधेस दू्रत मार्गजस्ता आयोजनाको काम छिटो सक्न, योग–आरोग्यताको अभियान सञ्चालन गर्न र मापदण्डका आधारमा कर्मचारीको सरुवा गर्न पनि मन्त्रीहरुलाई आग्रह गर्नुभयो । “मेरा यी कुराहरु प्रतिनिधिमूलक मात्रै हुन्, एवं रितले सबै मन्त्रीहरुले आफ्नो मन्त्रालयमा के नयाँ र परिवर्तनकारी काम गर्न सकिन्छ योजना बनाउनुस्, आउने भदौको अन्तिमतिर फेरि बसेर त्यस्ता काम निर्धारण गरेर अगाडि बढौँ ।’’, प्रधानमन्त्री ओलीले भन्नुभयो, “मौलिक ढंगले हामी अघि बढ्नुपर्छ । साँच्चै माइस्टोन हुने खालका काम गरौँ ।’’

कार्यक्रममा चालु आर्थिक वर्षमा गरिने मुख्य काम र हासिल हुने उपलब्धिका विषयमा प्रधानमन्त्री र मन्त्रीहरुबीच कार्यसम्पादन सम्झौता भएको थियो ।

‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा गर्न थालिएका पूर्वाधार निर्माण तथा सेवा प्रवाहमा सुधारका कार्यहरु तोकिएको समयमा सम्पन्न गर्न कार्यसम्पादन सम्झौताको अभ्यास प्रधानमन्त्री ओलीको विगतको कार्यकालमा आरम्भ गरिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *