विपिन जोशीको रिहाइका लागि सरकार सम्पूर्ण प्रयासमा जुटेको छ : प्रधानमन्त्री ओली

काठमाडौं, २ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले इजरायलमा हमास समूहद्वारा बन्धक बनाइएका नेपाली नागरिक विपिन जोशीको सुरक्षित र शीघ्र रिहाइ सुनिश्चित गर्न नेपाल सरकारले सबै सम्भव प्रयास गरिरहेको बताउनुभएको छ। आज सामाजिक सञ्जालमार्फत उहाँले विपिनको रिहाइ सरकारको उच्च प्राथमिकता र जिम्मेवारी भएको स्पष्ट पार्नुभएको हो।

सरकारको प्रयासबारे जानकारी दिँदै प्रधानमन्त्री ओलीले लेख्नुभएको छ, “सरकार विपिनको सुरक्षालाई प्राथमिकता दिँदै हर सम्भव पहलमा जुटिरहेको छ। विपिनको सुरक्षित र शीघ्र रिहाइ सुनिश्चित गर्न परराष्ट्र मन्त्रालयले खाडी क्षेत्रका दूतावासमार्फत निरन्तर संवाद गरिरहेको छ।”
प्रधानमन्त्री ओलीले विपिनको रिहाइका लागि आफूले व्यक्तिगत रूपमै अन्तर्राष्ट्रिय स्तरमा पहल गरेको पनि स्मरण गराउनुभयो। उहाँले भन्नुभयो, “यसअघि मध्यपूर्वको शान्तिका लागि पहल गरिरहेका टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानसँग गत चैत ७ गते र इजिप्टका राष्ट्रपति अब्देल फत्ताह सइद हुुसैन खालिलसँग गत फागुन २८ गते मैले यस विषयमा ध्यानाकर्षण गर्दै फोन संवाद गरेको थिएँ।”

प्रधानमन्त्रीले विपिनको परिवारलाई सरकारको पूर्ण साथ रहेको बताउँदै उनीहरूको प्रयासको पनि सराहना गर्नुभयो। “इजरायलस्थित हाम्रो दूतावासको समन्वयमा बिपिनकी आमा पद्मा र बहिनी पुष्पाले महामहिम राष्ट्रपति आइज्याक हर्जोग र संसद् अध्यक्ष अमिर ओहानासँग भेटेर विपिनको रिहाइको लागि पहल गर्न आग्रह गर्नुभएको छ,” उहाँले उल्लेख गर्नुभयो।

अन्त्यमा, प्रधानमन्त्री ओलीले इजरायलमा रहेर यस कार्यमा सहयोग पुर्‍याइरहेका नेपालीहरू, स्थानीय नागरिक, पत्रकार, सुरक्षाकर्मी र सामाजिक अभियन्ताहरूप्रति विशेष धन्यवाद ज्ञापन गर्नुभएको छ।