झापाको बिर्तामोडमा विद्युत् ‘सर्ट’ भई भीषण आगलागी : तीन घर पूर्ण रूपमा नष्ट
काठमाडौँ, साउन १४ । झापाको बिर्तामोड नगरपालिका ५ स्थित भद्रपुर रोडमा आज बिहान विद्युत् ‘सर्ट’ भएर भीषण आगलागी भएको छ । उक्त आगलागीबाट तीन वटा घर पूर्ण रूपमा नष्ट भएका छन् भने अन्य तीन घरमा आंशिक क्षति पुगेको छ ।
जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी रञ्जन अवाका अनुसार स्थानीय गणेश पोख्रेलको काठले बनेको दुईतले घरबाट विद्युत् ‘सर्ट’ भई आगलागी सुरु भएको थियो । सोही आगो फैलिँदा तारा अर्यालको टिनको छानो भएको एकतले घर र सुन्दर राजवंशीको एकतले घर पनि पूर्ण रूपमा जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।
आगलागीबाट छिमेकी भरत पोख्रेलको एकतले घर र शारदा राजवंशीको दुईतले पक्की घरमा आंशिक क्षति पुगेको छ । साथै, दीपेन्द्रकुमार वलीको दुईतले पक्की घरको दोस्रो तलाको झ्यालमा समेत क्षति पुगेको छ ।
बिर्तामोड, भद्रपुर र मेचीनगर नगरपालिकाका दमकल, सुरक्षाकर्मी तथा स्थानीय बासिन्दाको संयुक्त प्रयासमा आगो नियन्त्रणमा लिइएको थियो । आगलागीबाट भएको धनमालको क्षतिको यकिन विवरण सङ्कलन गर्ने कार्य भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।