प्रतिनिधिसभाको बैठक आज बस्दै

काठमाडौँ, १४ साउन । सङ्घीय संसद्, प्रतिनिधिसभाको बैठक आज बस्दैछ । नयाँ बानेश्वरस्थित संसद् भवनमा बिहान ११:०० बजेका लागि बैठक बोलाइएको सङ्घीय संसद् सचिवालयले जनाएको छ ।

आजको बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘अर्थसम्बन्धी केही नेपाल कानुनलाई संशोधन र खारेज गर्ने विधेयक, २०८३’ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

यसैगरी, बैठकमा सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभाका पूर्वसदस्य एवं संविधानसभा सदस्य गोपालमान श्रेष्ठको निधनमा शोक प्रस्ताव प्रस्तुत गर्नुहुनेछ । श्रेष्ठको हालै भएको निधनप्रति संसद्ले श्रद्धाञ्जली अर्पण गर्दै शोक प्रस्ताव पारित गर्नेछ ।

अर्कातर्फ, आजै बिहान ११:०० बजे विधायन व्यवस्थापन समितिको बैठक पनि बस्दैछ । उक्त बैठकमा ‘सङ्घीयतामा विधायिकी अन्तरसम्बन्ध : नेपालमा अभ्यास, आवश्यकता र चुनौती’ विषयमा केन्द्रित रहेर अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिने कार्यसूची रहेको सचिवालयले जनाएको छ ।