यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
काठमाडौँ, १४ साउन । हाल देशभर मनसुनी वायुको प्रभाव कायमै रहेकाले आज पनि देशका विभिन्न स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा हाल नेपालको पूर्वी भू–भागमा सरदर स्थानमा र पश्चिम भू–भागमा सरदर स्थानभन्दा केही उत्तरतर्फ अवस्थित छ ।
अहिले कोशी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतया बदली रहेको छ भने बागमती, कोशी, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
आज दिउँसो देशभर साधारणतया बदली रहने महाशाखाले जनाएको छ । पहाडी भू–भागका धेरै स्थान र हिमाली क्षेत्रका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । विशेष गरी कोशी र बागमती प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ । यस्तै, तराईका जिल्लाहरूमा पनि मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ ।
आज राति पनि देशभर साधारणतया बदली रहनेछ । राति कोशी प्रदेशको पहाडी र तराई भू–भागका साथै बागमती र गण्डकी प्रदेशका पहाडी क्षेत्रका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जारी गरेको बुलेटिनमा उल्लेख छ । अन्य भू–भागमा पनि हल्कादेखि मध्यम वर्षा र उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको छ ।
भारी वर्षाको सम्भावना रहेका क्षेत्रहरूमा गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षय जस्ता प्राकृतिक प्रकोपको जोखिम रहने हुनाले नदी तटीय क्षेत्र र भिरालो जमिन आसपासका बासिन्दालाई उच्च सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन् ।