भारतद्वारा नेपाली सेनालाई सवारीसाधन, घोडा र विशेष तालिमप्राप्त कुकुर हस्तान्तरण

काठमाडौँ, २ भदौ । भारत सरकारले नेपाली सेनाको क्षमता अभिवृद्धिमा सघाउँदै सवारीसाधन, घोडा र विशेष तालिमप्राप्त कुकुरहरू सहयोगस्वरुप हस्तान्तरण गरेको छ।

नेपालको दुईदिने भ्रमणमा रहनुभएका भारतीय विदेश सचिव विक्रम मिस्रीले सैनिक मुख्यालय जङ्गी अड्डामा आयोजित एक विशेष समारोहमा उक्त सहयोग सामग्री हस्तान्तरण गर्नुभएको हो।

नेपाली सेनाका अनुसार, भारतबाट ६ वटा सवारीसाधन, ५ वटा घोडा तथा विपद् र विस्फोटपछिको खोजी तथा अनुसन्धान कार्यमा प्रयोग हुने २ वटा विशेष तालिमप्राप्त कुकुर प्राप्त भएका छन्।
त्यसअघि, विदेश सचिव मिस्रीले प्रधानसेनापति अशोकराज सिग्देलसँग शिष्टाचार भेटवार्ता गर्नुभएको थियो।

सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार भेटमा दुई देशबीचको आपसी हित, सैन्य सहयोग र सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा छलफल भएको थियो।

नेपाल र भारतबीच लामो समयदेखि राजनीतिक, सैनिक र जनस्तरमा प्रगाढ सम्बन्ध रहँदै आएको छ। दुवै देशले एकअर्काका सेना प्रमुखलाई मानार्थ महारथीको सम्मान दिने अनुपम परम्परादेखि संयुक्त सैन्य तालिम र अभ्यासहरू सञ्चालन गर्दै आएका छन्, जसले सैन्य सम्बन्धलाई थप घनिष्ठ बनाएको छ।

हस्तान्तरण समारोहमा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवलगायत नेपाली सेनाका उच्च पदस्थ अधिकृतहरूको उपस्थिति थियो।