कांग्रेसले ईश्वरी न्यौपानेलाई राज्य व्यवस्था समितिको सभापति बनाउने

काठमाडौं, १० भदाै । नेपाली कांग्रेसले राज्य व्यवस्था तथा सुशासन समितिको रिक्त सभापति पदमा ईश्वरीदेवी न्यौपानेलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

मंगलबार बसेको कांग्रेस पदाधिकारी बैठकले समितिका सदस्य समेत रहेका न्यौपानेलाई सभापतिको उम्मेदवार बनाउने निर्णय गरेको हो ।

समितिका सदस्य दिलेन्द्रप्रसाद बडुलाई सभापति बनाउने तयारी भए पनि अन्तिम समयमा आएर संसदीय सुनुवाइ समितिका सभापति रहेका न्यौपानेलाई त्यहाँबाट राजीनामा दिन लगाएर राज्य व्यवस्था समितिको सभापति बनाउने पदाधिकारी बैठकले निर्णय गरेको हो ।

समिति सभापतिका लागि मंगलबार मनोनयन दर्ता र बुधबार निर्वाचनको तालिका छ । कुलिङ पिरियड छेडखानीमा संसदीय समितिले नैतिक जिम्मेवार ठहर्‍याएपछि कांग्रेसकै तत्कालीन सभापति रामहरि खतिवडाले गत साउन २८ मा राजीनामा दिएका थिए ।

रिक्त सभापतिका लागि दिलेन्द्र बडु, सरिता प्रसाई, अम्बिका बस्नेत लगायतका सांसद आकांक्षी देखिएका थिए ।