२८०० माथि टिकेन शेयर बजार, कारोबार रकम भने बढ्यो
काठमाडाैं, १२ भदाै । शेयर बजारमा बुधबार बढेर २८०० विन्दुभन्दा माथि पुगेर बन्द भएको नेप्से साताको अन्तिम कारोबार दिन घटेर बन्द भएको छ।
बिहीबार नेप्से परिसूचक ३८.१० अंक घटेर २७८१.०० विन्दुमा पुगेकाे हाे । त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स ५.७४ अंक घटेको छ भने फ्लोट इण्डेक्स २.५५ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.०२ अंक घटेको छ।
नेप्से घटेपनि यस दिन कारोबार रकम भने बढेको छ। बुधबार ७ अर्ब ६८ करोड रुपैयाँको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३२२ स्टकको ७८ हजार ३७९ पटकको कारोबारमा ८ अर्ब ९ करोड ५६ लाख १० हजार रुपैयाँबराबरको १ करोड ७८ लाख ९१ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।
यसदिन विकास हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। सो कम्पनीको शेयर निरन्तर सातौँ कारोबार दिन सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। यस दिन सो कम्पनीको शेयरमूल्य ५१ रुपैयाँ ७० पैसा बढेर ५६८ रुपैयाँ ९० पैसामा अन्तिम कारोबार भएको छ। यस दिन मूल्य बढेका अरु स्टकहरुको वृद्धिदर भने ४ प्रतिशतभन्दा कम रहेको छ। कारोबारमा आएको ओरियन्टल होटलको शेयरमूल्य यस दिन सर्वाधिक ४.७१ प्रतिशत घटेको छ।
कारोबार रकमका आधारमा यस दिन नेपाल पुनर्बीमा कम्पनी शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ६५ करोड ४४ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ। त्यसैगरी, यस दिन हिमालयन रि इन्स्योरेन्सको साढे ६० करोड रुपैयाँभन्दा बढीको शेयर किनबेच भएको छ भने हिमालयन डिष्टिलरीको कारोबार रकम ३५ करोड रुपैयाँ नाघेको छ।
१३ उपसमूहमध्ये यस दिन २ उपसमूहको परिसूचक बढेको छ भने ११ उपसमूहको परिसूचक घटेको छ। यस दिन विकास बैंक उपसमूहको परिसूचक सर्वाधिक २.३८ प्रतिशत घटेको छ। त्यस्तै, यस दिन वित्त, होटल तथा पर्यटन, जलविद्युत, लगानी, जीवन बीमा, उत्पादन तथा प्रशोधन, लघुवित्त अन्य र व्यापार उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।