ताप्लेजुङ गोल्डकप : सातदोबाटोलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै सलहेश युवा क्लब सेमिफाइनलमा

काठमाडौँ, भदौ १५ । सिरहाको सलहेश युवा क्लब यहाँ जारी ‘ताप्लेजुङ गोल्डकप’ फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ। आइतबार सम्पन्न तेस्रो क्वार्टरफाइनल खेलमा सातदोबाटो युथ क्लबलाई पेनाल्टी सुटआउटमा ४-३ गोल अन्तरले पराजित गर्दै सलहेशले अन्तिम चारमा आफ्नो स्थान सुरक्षित गरेको हो ।

सदरमुकामस्थित भानु जन माध्यमिक विद्यालयको खेल मैदानमा भएको निर्धारित समयको खेल १-१ गोलको बराबरीमा टुङ्गिएपछि खेलको निर्णय ट्राइब्रेकरबाट लिइएको थियो । ट्राइब्रेकरमा सलहेशका तर्फबाट फागुराम थारु, सनिष श्रेष्ठ, निषकुमार श्रेष्ठ र दीप कार्कीले गोल गरे भने रोहन कार्कीको प्रहार सातदोबाटोका गोलरक्षकले बचाएका थिए। सातदोबाटोका तर्फबाट विशाल भण्डारी, शिला र श्याम मुर्मुले गोल गरे पनि श्यामेल सुनुवार र विश्व लामाको प्रहार सलहेशका गोलरक्षकले विफल तुल्याइदिएपछि साविक विजेता सलहेश विजयी भयो ।

यो जितसँगै सलहेश युवा क्लबले सेमिफाइनलमा भारतको जर्जियन युनाइटेड फुटबल क्लबसँगको भेट पक्का गरेको छ। यसअघि पाँचथरको फिदिम स्पोर्टिङ क्लब र जर्जियन युनाइटेड सेमिफाइनलमा पुगिसकेका छन् । प्रतियोगिताको अन्तिम क्वार्टरफाइनल खेल सोमबार विभागीय टोली नेपाल पुलिस क्लब र झापा ११ बीच हुने आयोजकले जनाएको छ ।

लाखेजात्रा पर्वको अवसरमा लाखेजात्रा सञ्चालन समितिले आयोजना गरेको यस प्रतियोगितामा आठ वटा टोलीको सहभागिता रहेको छ । भदौ १९ गतेसम्म चल्ने यस प्रतियोगिताको विजेताले ७ लाख २ हजार ८३ रुपैयाँ र उपविजेताले ३ लाख ५२ हजार ८३ रुपैयाँ नगद पुरस्कारका साथै ट्रफी, पदक र प्रमाणपत्र प्राप्त गर्ने समितिका कोषाध्यक्ष दावा शेर्पाले जानकारी दिनुभयो ।

विसं २०२२ देखि विभिन्न नाममा सञ्चालन हुँदै आएको यो ऐतिहासिक प्रतियोगिता पछिल्ला वर्षहरूमा ‘ताप्लेजुङ गोल्डकप’ का नामले आयोजना गरिँदै आएको छ । प्रतियोगिताका उत्कृष्ट खेलाडीहरूलाई विभिन्न विधागत पुरस्कारको समेत व्यवस्था गरिएको छ ।