विकटमा विपद

१० वर्षमा कर्णालीले विपदबाट ६१९ जना व्यक्ति र साढे ३ अरब रुपियाँ आर्थिक क्षति व्यहोर्‍यो

काठमाडौँ, भदौ १४ । कर्णाली प्रदेशमा पछिल्लो दश वर्षमा विपद्का घटनाहरूले गम्भीर मानवीय र भौतिक क्षति पुर्‍याएको छ । यस अवधिमा ६१९ जनाको मृत्यु भएको छ भने करिब साढे तीन अर्ब रुपैयाँ बराबरको धनमाल क्षति भएको तथ्याङ्कले देखाएको छ ।

कर्णाली प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयका अनुसार, २०७२ देखि २०८१ सम्मको दश वर्षको अवधिमा विपद्का घटनाहरूमा परी ६१९ जनाको ज्यान गएको छ । सोही अवधिमा ६८ जना बेपत्ता भएका छन् भने एक हजार २६६ जना घाइते भएका छन् । जिल्लागत रूपमा हेर्दा, सबैभन्दा बढी जाजरकोटमा १८४ जनाको मृत्यु भएको छ भने सबैभन्दा कम मुगुमा २६ जनाले ज्यान गुमाएका छन् । रुकुममा ९२ जना, कालीकोटमा ८४ जना, जुम्लामा ४७ जना र हुम्लामा ४६ जनाको मृत्यु भएको तथ्याङ्क छ । यसैगरी, सल्यानमा ३९ जना, दैलेखमा ३६ जना, डोल्पामा ३५ जना र सुर्खेतमा ३० जनाको मृत्यु भएको पाइएको छ ।

प्रदेश सरकारका विपद् सहजकर्ता उज्वल अधिकारीका अनुसार, एक दशकको अवधिमा सबैभन्दा धेरै पहिरोबाट १८० जनाको मृत्यु भएको छ । भूकम्पका कारण १५४ जना, आगलागीबाट ६४ जना, चट्याङबाट ४६ जना, बाढीबाट ३९ जना, महामारीबाट ३४ जना, लेक लागेर २५ जना, वन डढेलोमा परी १५ जना, डुबेर १४ जना र भारी वर्षाका कारण १३ जनाको मृत्यु भएको छ ।

कर्णाली प्रदेश भूकम्प, पहिरो, आगलागी, चट्याङ, बाढी र महामारी जस्ता प्रकोपको उच्च जोखिममा रहेको विभिन्न वैज्ञानिक अध्ययनले देखाएको छ । यसका साथै लेक लाग्ने, नदी कटान, डुबान, भूक्षय, जनावर आक्रमण, रोगको प्रकोप, असिना, हुरीबतास जस्ता प्रकोपले पनि ठूलो धनजनको क्षति पुर्याउने गरेको छ ।

वित्तीय क्षतिका हिसाबले, दश वर्षमा कुल करिब साढे तीन अर्ब रुपैयाँको क्षति भएको छ । गत वर्ष जाजरकोटमा आएको भूकम्पले सबैभन्दा धेरै क्षति पुर्‍याएको थियो । तथ्याङ्कअनुसार भूकम्पबाट मात्रै रु दुई अर्ब ४७ करोडभन्दा धेरैको क्षति भएको छ ।

सम्भावित विपद्बाट हुने क्षति न्यूनीकरणका लागि प्रदेश सरकारले विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना बनाएर काम गरिरहेको जनाएको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालयका उपसचिव उत्तम गौतमका अनुसार, मनसुनको बेला हुनसक्ने विपद् जोखिम कम गर्न मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजनाअनुसार काम भइरहेको छ । सरकारले कक्षा ९ देखि १२ सम्मका १३ हजार विद्यार्थीलाई विपद्बाट जोगिन सक्ने उपायबारे हाते पुस्तक वितरण गर्ने योजना बनाएको छ, जसले सचेतनामा सघाउ पुग्ने विश्वास गरिएको छ । यस कार्यका लागि विभिन्न नीतिगत व्यवस्थासमेत गरिएको उहाँले जानकारी दिनुभयो ।