टरिगाउँ विमानस्थलमा डेढ महिनापछि हवाई सेवा पुनः सञ्चालन
काठमाडौँ, भदौ २६ । दाङको तुलसीपुरस्थित टरिगाउँ विमानस्थलमा करिब डेढ महिनाको अन्तरालपछि हवाई सेवा पुनः सञ्चालनमा आएको छ । प्रतिकूल मौसमका कारण अवरुद्ध बनेको दाङ-काठमाडौँ हवाई उडान बिहीबारदेखि नियमित भएको हो ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका वरिष्ठ अधिकृत प्रदीप भुसालका अनुसार बिहीबार नेपाल एयरलाइन्सको १९ सिटे जहाजले काठमाडौँबाट आठ यात्रु लिएर दाङ अवतरण गरेको थियो भने दाङबाट चार यात्रु लिएर काठमाडौँ फर्किएको छ । अबदेखि हप्ताको चार दिन (आइतबार, मङ्गलबार, बिहीबार र शुक्रबार) नियमित उडान हुने प्राधिकरणले जनाएको छ । हाल काठमाडौँ-दाङको हवाई भाडा करिब १२ हजार रुपैयाँ कायम गरिएको छ भने उडान समय बिहान ९ः०० देखि ११ः०० बजेको बीचमा रहनेछ ।
विमानस्थलको धावनमार्ग केवल ७५० मिटर मात्र रहेकाले यहाँ हाल साना (१९ सिटे) जहाज मात्र अवतरण गर्न सक्ने अवस्था छ । धावनमार्गको सीमितता र उडानको अनिश्चितताका कारण यस क्षेत्रका बासिन्दा नेपालगन्ज वा भैरहवा जानुपर्ने बाध्यता रहेको छ । २०११ सालमा स्थापना भएको यस ऐतिहासिक विमानस्थलको धावनमार्ग विस्तारका लागि लामो समयदेखि माग उठ्दै आए पनि हालसम्म ठोस काम हुन सकेको छैन । यद्यपि, चालु आर्थिक वर्षमा विमानस्थलको स्तरोन्नतिका लागि सरकारले रु २५ करोड बजेट विनियोजन गरेको छ ।