सोलुखुम्बुमा हुङ्गा खोला पहिरोले थुनिँदा दुधकोशी तल्लो तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

सोलुखुम्बु, २६ भदौ । सोलुखुम्बुको महाकुलुङ गाउँपालिका–४ र ५ को सिमानामा बग्ने हुंगा खोला पहिरोले थुनिएपछि दुधकोशी नदीको तल्लो तटीय क्षेत्रमा सावधानी अपनाउन स्थानीय प्रशासनले आग्रह गरेको छ।

प्रमुख जिल्ला अधिकारी कमानसिंह थापामगरका अनुसार आज बिहान ७ बजे खसेको पहिरोले खोला थुनिँदा करिब १०० मिटर लामो र १६ मिटर अग्लो बाँधजस्तो संरचना बनेको छ। पहिरो खस्ने क्रम रोकिएको नभई खोलामा जम्मा हुने पानीको मात्रा निरन्तर बढिरहेको उनले जानकारी दिए।

“खोलाको माथिल्लो भागबाट ठूलो पहिरो खसेर करिब १६ मिटर उचाइ र १०० मिटर फराकिलो ड्यामजस्तो अवस्था बनेको जानकारी प्राप्त भएको छ,” उनले भने, “पहिरो नरोकिएकाले तल्लो तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन र सम्भावित जोखिमलाई ध्यानमा राख्दै सुरक्षित स्थानतर्फ सर्न आग्रह गरेका छौं।”

हुंगा खोला दुधकोशी नदीमै मिसिने भएकाले पहिरोका कारण बनेको यस अस्थायी तालको पानी एक्कासि बाहिरिएमा तल्लो तटीय क्षेत्रमा गम्भीर असर पर्न सक्ने प्रशासनको अनुमान छ। यसै सन्दर्भमा सोलुखुम्बुसँगै दुधकोशी नदीको तल्लो तटीय क्षेत्रमा पर्ने ओखलढुंगा र खोटाङका बासिन्दालाई समेत सम्बन्धित जिल्ला प्रशासन कार्यालयमार्फत सतर्क रहन जानकारी गराइएको प्रमुख जिल्ला अधिकारी थापामगरले बताए।

महाकुलुङ गाउँपालिका अध्यक्ष सूर्यबहादुर कुलुङका अनुसार खोला थुनिएको जानकारी पाएलगत्तै गाउँपालिकाले घटनास्थलतर्फ स्काभेटर पठाएको छ। घटनास्थलको अवस्था बुझी आवश्यक व्यवस्थापन तथा जोखिम न्यूनीकरणका लागि स्थानीय तहबाट पहल भइरहेको उनले जानकारी दिए।

उल्लेखनीय छ, हुंगा खोला तथा वरपरको क्षेत्रमा विभिन्न जलविद्युत् आयोजना निर्माणाधीन अवस्थामा छन्। स्थानीय प्रशासनले खोला तथा नदी वरपरका बासिन्दालाई सतर्क रहन र सुरक्षा निकायले जारी गर्ने सूचनाको पूर्ण पालना गर्न पुनः आग्रह गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *