भोटेकोशी बाढी प्रभावित बालबालिकाको आवश्यकता र उपलब्धता थाहा पाउन कार्यवाहक प्रमुख डंगोल बाल संवादमा : विद्यार्थीहरुलाई विद्यालय आउन प्रोत्साहन

काठमाडौँ, भदौ २६ । रसुवाको भोटेकोशी बाढीबाट विस्थापित भई काठमाडौँमा आश्रय लिइरहेका १३२ जना बालबालिकाको शिक्षालाई निरन्तरता दिन काठमाडौँ महानगरपालिकाले विशेष पहल सुरु गरेको छ । नागार्जुनस्थित पहेँलो गुम्बामा आश्रित ती बालबालिकाहरूलाई महानगरले डल्लु आवास क्षेत्रमा रहेको गीतामाता स्कुलमा भर्ना गरी अध्ययनको व्यवस्था मिलाएको हो ।

बाढीका कारण पुगेको मानसिक चोट र सामािजक आघात कम गराउन काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले विद्यालय पुगेर बालबालिकाहरूसँग प्रत्यक्ष संवाद गर्नुभएको छ । सो क्रममा उहाँले बालबालिकाका आवश्यकता र उनीहरूको मानसिक अवस्थाबारे जानकारी लिनुभयो ।

शिक्षक र प्रधानाध्यापकहरूसँग कुरा गर्दै कार्यवाहक प्रमुख डंगोलले भन्नुभयो, “अहिलेको अवस्थामा यी बालबालिकालाई किताब र पाठभन्दा बढी माया र परामर्शको खाँचो छ । वचन र व्यवहारले उनीहरूलाई थप चोट नपुगोस् भन्नेमा सजग रहनुहोला । उनीहरूमा रहेको त्रास कम गराउन आत्मीय व्यवहारका साथ मनोसामाजिक परामर्श प्रदान गर्नू ।”

महानगरपालिकाले विद्यार्थीहरूलाई पुस्तक र दिवा खाजाको व्यवस्था गरेको छ भने ‘कोशिस नेपाल’ नामक संस्थाले झोला, पोसाक र मनोसामाजिक परामर्श उपलब्ध गराएको छ । त्यसैगरी, आश्रयस्थलदेखि विद्यालयसम्म ल्याउन र पुर्‍याउन ‘एलआरआई स्कुल’ले सवारी साधनको व्यवस्था मिलाएको छ ।

महानगरको सम्पर्कमा रहेका १३२ जना विद्यार्थीमध्ये पहिलो दिन ५९ जना र दोस्रो दिन ६१ जना विद्यालय उपस्थित भएका छन् । विद्यालयका प्रधानाध्यापक हरिकृष्ण श्रेष्ठका अनुसार गहिरो चिन्तामा रहेका विद्यार्थीहरूलाई दबाब नदिई बिस्तारै सामान्य अवस्थामा फर्काउने प्रयास भइरहेको छ ।

महानगरपालिकाको शिक्षा विभागका वरिष्ठ अधिकृत सुशील सुवेदीका अनुसार सम्पर्कमा आएका विद्यार्थीहरू प्रारम्भिक बाल विकास (ईसीडी) देखि कक्षा १२ सम्मका रहेका छन् । जसमा सबैभन्दा धेरै कक्षा १ का ४५ जना विद्यार्थी छन् । तीमध्ये कतिपयले बाढीमा आफ्ना अभिभावक गुमाएका छन् भने कतिपयको घर र बस्ने ठेगाना नै बाँकी छैन ।

विस्थापित बालबालिकाका लागि बालमैत्री वातावरण निर्माण गर्न महानगरका कार्यपालिका सदस्य, जनप्रतिनिधि र शिक्षा विभागका अधिकारीहरूले निरन्तर सहजीकरण गरिरहेका छन् । विद्यालय आउने विद्यार्थीको संख्या क्रमिक रूपमा बढ्दै गएको महानगरले जनाएको छ ।