प्रेम कथानक चलचित्र कुमारी निर्माण घोषणा : चलचित्र राउतले निर्देशन गर्ने
काठमाडौँ, भदौ १४ । निर्देशक दिनेश राउतले आफ्नो प्रेम कथानक चलचित्र ‘कुमारी’ को घोषणा गर्नुभएको छ । काठमाडौंको टुँडिखेलमा आयोजित एक भव्य कार्यक्रमका बीच चलचित्रको पहिलो पोस्टर सार्वजनिक गरियो । यसै कार्यक्रममा चलचित्रका मुख्य कलाकारहरूको रूपमा अबिशेक खड्का र आकृति राजभन्डारीलाई परिचय गराइएको थियो ।
कार्यक्रमको मुख्य आकर्षण गायक केहर सिंह लिम्बु र उनको ब्यान्ड ‘केहर एन्ड द लुङ्गा’को लाइभ प्रस्तुति रह्यो । लिम्बुले यसै चलचित्रबाट पार्श्व गायनमा औपचारिक डेब्यु गर्ने घोषणा गर्दै चलचित्रको गीत ‘कहाँ छौ’ प्रस्तुत गरेर दर्शकलाई मन्त्रमुग्ध पारे ।
‘आइ एम सरी’ बाट निर्देशन यात्रा सुरु गरेका राउत ‘नोभेम्बर रेन’ र ‘क्लासिक’ जस्ता सफल प्रेमकथामा आधारित चलचित्रका लागि परिचित छन्। यद्यपि, हालसालै उनले ‘पर्व’, ‘महाभोज’, ‘प्रसाद’, ‘प्रकाश’, र ‘पुजार सार्की’ जस्ता सामाजिक विषयवस्तुमाथि बनेका चलचित्रहरू पनि निर्देशन गरेका छन्। दर्शकको माया र चाहनालाई मध्यनजर गर्दै आफू फेरि प्रेमकथामा फर्किएको निर्देशक राउतले बताउनुभयो । उहाँका अनुसार ‘कुमारी’ को काम ‘पुजार सार्की’ भन्दा अगाडि नै सुरु गरिए पनि विविध कारणले अहिले छायाङ्कनमा जान सकेको थिएन ।
‘कुमारी’ को निर्माण बिनिश इन्टरटेन्मेन्टले गर्दैछ भने पिक्चर फ्रेमको सहकार्य रहनेछ। यसका निर्माता महेन्द्र अधिकारी हुनुहुन्छ । कथा विकास सुवेदीको हो । चलचित्रमा अबिशेक र आकृतिबाहेक घनश्याम जोशी, सुनिता श्रेष्ठ, आकाङ्क्षा कार्की, मधु खड्का, सनम श्रेष्ठ, सकु शाह, सरोज लामिछाने, मनीषा शर्मा, भूपी लुहार लगायतका कलाकारको पनि अभिनय रहनेछ ।
चलचित्रको सङ्गीत केहर सिंह लिम्बु, सुमन तामाङ र प्रशान्त सिवाकोटीले गर्नुहुनेछ । जहाँ केहरले सबै गीतमा स्वर दिनुहुनेछ । गीतका शब्दहरू सागर लामिछाने मगर, सुमन तामाङ र युवराज काफ्लेका छन् । सार्वजनिक पोस्टर रोयल भिमसेन (ट्राइडेन्ट कन्सेप्ट)ले डिजाइन गरेको हो भने पोस्टर फोटोग्राफी राजभाई सुवालको रहेको छ ।
निर्माण टिमका अनुसार चलचित्रको छायाङ्कन यसै हप्तादेखि काठमाडौंमा सुरु हुँदैछ । यसै वर्ष प्रदर्शन गर्ने योजना रहेको छ। ‘कुमारी’को डिजिटल वितरण केन्द्र मोशन पिक्चर्सले गर्नेछ भने काठमाडौं उपत्यकामा डीसीएन र उपत्यका बाहिर कुवेर सिने डिस्ट्रीब्युशनले थिएट्रिकल वितरणको जिम्मा लिनेछन् ।
सुसन प्रजापतिको छायाङ्कन निर्देशन रहने यस चलचित्रमा केदार भुसाल कार्यकारी निर्माता, आशिका शर्मा प्रोडक्सन डिजाइनर, र दिनेश बहादुर रावत मुख्य सहायक निर्देशक हुनुहुन्छ ।