इन्द्रजात्राका लागि भक्तपुरमा उठाइयो लिङ्गो

काठमाडौँ, भदौ १९ । भक्तपुरमा आजदेखि परम्परागत इन्द्रजात्रा सुरु भएको छ । यस अवसरमा भक्तपुरका विभिन्न टोलहरूमा इन्द्रको प्रतीकका रूपमा सानो लिङ्गो (नेपाल भाषामा ‘यम्वोःद्यो’ भनिने) ठड्याइएको छ ।

संस्कृतिकर्मी ओम धौभडेलका अनुसार, इन्द्रजात्राको किंवदन्ती देवराज इन्द्रकी आमा वसुन्धराको भाद्र शुक्ल चौथीको व्रतसँग जोडिएको छ।  वसुन्धरालाई पारिजातको फूल चाहिएकोले इन्द्रपुत्र जयन्त फूल खोज्न गएका थिए । पारिजात टिप्दै गर्दा दैत्यहरूले उनलाई बन्दी बनाए । जयन्तलाई छुटाउन देवता र दैत्यहरूबीच भएको युद्धमा देवताहरूको विजय भएपछि त्यसैको खुसीयालीमा इन्द्रजात्रा मनाउन थालिएको विश्वास गरिन्छ ।

आज भक्तपुरको इताछे, तेखापुखु, वंशगोपाल, नासमना, बुलुचा, साकोठा, भोलाछेँ, सुजम्हरी, खौमा, इताछेँलगायतका टोलहरूमा पूजाआजासहित ‘यम्वो द्यो’ ठड्याइएको छ। भक्तपुरमा यो जात्रा आठ दिनसम्म मनाइन्छ ।