लगातार दुई दिनको गिरावटपछि नेप्से फेरि उकालोमा, सबै उपसमूहमा उछाल
काठमाडौं, २६ भदौ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अंकले बढेको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक २७.९४ अंकले बढेर २,५५९.४९ विन्दुमा पुगेको छ।
ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ३.९८ अंकले बढेर ४५३.९२ मा, फ्लोट सूचक १.८८ अंकले बढेर १७५.७० मा तथा सेन्सेटिभ फ्लोट सूचक १.४३ अंकले बढेर १५३.२१ मा पुगेको छ।
आज विभिन्न कम्पनीका १ करोड २० लाख ८९ हजार ७०९ कित्ता शेयर रु. ४ अर्ब ३६ करोड १ लाख ५९ हजार ४८७ मूल्यमा खरिदबिक्री भएको छ। आज सबै उपसमूहको शेयर मूल्य बढेको छ, जसमध्ये हाइड्रोपावर उपसमूह १.८३ प्रतिशतले सबैभन्दा बढी बढेको छ। यसैगरी लगानी १.५८ प्रतिशत, निर्जीवन बीमा १.७२ प्रतिशत, व्यापार १.४० प्रतिशत, विकास बैंक १.०५ प्रतिशत, होटल तथा पर्यटन १.०४ प्रतिशत, लघुवित्त र जीवन बीमा ०.९७–०.९७ प्रतिशत, बैंकिङ ०.७८ प्रतिशत, उत्पादन तथा प्रशोधन ०.७७ प्रतिशत, वित्त ०.४६ प्रतिशत र अन्य उपसमूह ०.४२ प्रतिशतले बढेको छ।
आज कारोबारमा सहभागी कम्पनीमध्ये २३८ कम्पनीको शेयर मूल्य बढेको छ भने ३० कम्पनीको घटेको र ९ कम्पनीको स्थिर रहेको छ। नेप्सेका अनुसार आज उपकार लघुवित्त वित्तीय संस्था, अभियान लघुवित्त वित्तीय संस्था र सिन्धु विकास बैंकका लगानीकर्ताले फाइदा कमाएका छन् भने मल्टिप्रपोज फाइनान्स कम्पनी, इमर्जिङ नेपाल लिमिटेड र ओमेगाश्रीलगायतका लगानीकर्ताले घाटा बेहोरेका छन्।