बाढी प्रभावित नुवाकोट र रसुवामा एमालेको विशेष टोली परिचालन : अध्यक्ष ओलीद्वारा प्रभावकारी उद्धार र राहतका लागि निर्देशन
काठमाडौँ, भदौ २६ । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले बाढी प्रभावित नुवाकोट र रसुवाका नागरिकको उद्धार तथा राहतका लागि पार्टीको विशेष टोलीलाई कार्यक्षेत्रमा खटाउनुभएको छ ।
च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा आज आयोजित एक कार्यक्रमका बिच अध्यक्ष ओलीले ‘सम्पर्क विशेष सङ्गठन कमिटी’को टोलीलाई आवश्यक निर्देशनसहित बिदाइ गर्नुभयो ।
बिदाइका क्रममा अध्यक्ष ओलीले टोलीलाई प्रभावित क्षेत्रको वस्तुगत अवस्था बुझ्न, पीडितहरूलाई तत्काल आवश्यक राहत सामग्री उपलब्ध गराउन र उद्धार कार्यमा सक्रियतापूर्वक सहभागी हुन निर्देशन दिनुभयो । विपद्को समयमा नागरिकको जीवन रक्षा र सहयोगलाई प्राथमिकता दिनुपर्नेमा जोड दिँदै उहाँले स्थानीय तह, जिल्ला प्रशासन र अन्य सम्बन्धित निकायहरूसँग आवश्यक समन्वय गरी राहत कार्यलाई प्रभावकारी बनाउन आग्रह गर्नुभयो ।
भोटेकोशी नदीमा आएको बाढीका कारण नुवाकोट र रसुवाका विभिन्न क्षेत्रमा जनधनको क्षति भएपछि एमालेले ती क्षेत्रहरूमा राहत, उद्धार तथा पुनःस्थापनाका लागि विभिन्न तहका कमिटीहरू परिचालन गर्दै आएको छ । सोही अभियानलाई थप व्यवस्थित बनाउन आज केन्द्रबाट विशेष टोली कार्यक्षेत्रतर्फ प्रस्थान गरेको हो ।
