जलनका बिरामीलाई २ लाखसम्मको निःशुल्क उपचार : कार्यवाहक प्रमुख सुनिता डंगोलद्वारा कीर्तिपुर अस्पताललाई २ करोड हस्तान्तरण
काठमाडौँ, २६ भदौ । काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले जलनका बिरामीले आर्थिक अभावका कारण उपचारबाट वञ्चित हुनुपर्ने वा अस्पतालमा बिरामी छाडेर पैसा खोज्न हिँड्नुपर्ने बाध्यताको अन्त्य गर्ने घोषणा गर्नुभएको छ । बुधबार कीर्तिपुर अस्पतालसँग एक विशेष सम्झौता गर्दै उहाँले लक्षित वर्गको निःशुल्क उपचारका लागि १ करोड रुपैयाँको ‘जलन उपचार कोष’ स्थापना र थप १ करोड रुपैयाँ बराबरको अत्याधुनिक स्वास्थ्य उपकरण अस्पताललाई हस्तान्तरण गर्नुभएको हो ।
कार्यवाहक प्रमुख डंगोलले उपचारसँगै जलन हुन नदिन प्रवर्द्धनात्मक र जनचेतनामूलक कार्यक्रमलाई समेत प्राथमिकता दिइने बताउनुभएको छ ।काठमाडौँ महानगरपालिकाले आर्थिक रूपमा विपन्न तथा लक्षित वर्गका व्यक्तिहरूका लागि २ लाख रुपैयाँसम्मको निःशुल्क जलन उपचार सेवा उपलब्ध गराउने भएको छ । यसका साथै महानगरले जलन उपचारको क्षमता विकास र उपकरण खरिदका लागि कीर्तिपुर अस्पताल (जनस्वास्थ्य सरोकार ट्रष्ट) लाई २ करोड रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ ।
महानगरपालिका र कीर्तिपुर अस्पतालबीच बुधबार यससम्बन्धी द्विपक्षीय सम्झौता सम्पन्न भएको हो । महानगरका कार्यवाहक प्रमुख सुनिता डंगोल र प्रमुख प्रशासकीय अधिकृत मुक्तिराम अर्यालको उपस्थितिमा स्वास्थ्य विभाग प्रमुख दीपककुमार केसी र अस्पतालका कार्यकारी निर्देशक गौरी प्रधानले सम्झौता पत्रमा हस्ताक्षर गर्नुभयो ।
को-को हुन् लक्षित वर्ग
सम्झौता अनुसार अति विपन्न, हिंसा पीडित तथा बेवारिसे बिरामीहरूले महानगरको स्वास्थ्य शिक्षा समितिको सिफारिसमा यो सेवा पाउनेछन् । साथै, काठमाडौँ महानगरका स्थायी बासिन्दा, कानुनी रूपमा बसाइँसराइ गरी आएका व्यक्तिहरू, महानगरका जनप्रतिनिधि, कर्मचारी र उनीहरूका परिवारका सदस्यहरूले पनि प्रतिव्यक्ति २ लाख रुपैयाँसम्मको निःशुल्क उपचार प्राप्त गर्नेछन् । यद्यपि, क्याबिन सेवा, ईएचएस (EHS) वा कस्मेटिक उपचार रोज्ने बिरामीको हकमा भने यो कोषको रकम खर्च गरिने छैन ।
उपकरण हस्तान्तरण र बजेट विनियोजन
महानगरपालिकाले अस्पताललाई प्रदान गरेको २ करोड रुपैयाँमध्ये १ करोड रुपैयाँ ‘जलन उपचार कोष’ का लागि छुट्याइएको छ । बाँकी १ करोड रुपैयाँ अस्पतालका लागि आवश्यक एनेस्थेसिया मेसिन, २५० केभीएको जेनेरेटर र ५ सय एम.ए. को डिजिटल एक्सरे मेसिन खरिदमा खर्च गरिएको छ । कार्यवाहक प्रमुख डंगोलले ती उपकरणहरू बुधबार नै अस्पताललाई हस्तान्तरण गर्नुभयो ।
‘पैसाको अभावमा उपचार नरोकिने सुनिश्चितता’
हस्तान्तरण कार्यक्रममा बोल्दै कार्यवाहक प्रमुख सुनिता डंगोलले भवितव्यका कारण जलनको शिकार भएका नागरिकले पैसाको अभावमा उपचार नपाउने अवस्थाको अन्त्य गर्न यो पहल गरिएको बताउनुभयो । उहाँले भन्नुभयो, “सकेसम्म कसैले जलन भोग्नु नपरोस् भनेर हामी प्रवर्द्धनात्मक कार्यक्रम चलाउँछौँ । तर दुर्घटना भइहालेमा उपचारका लागि पैसा खोज्न भौँतारिनु पर्ने अवस्था अब रहने छैन ।”
महानगरले आगलागी नियन्त्रणमा खटिने अग्नि नियन्त्रक, नगर प्रहरी र स्वास्थ्यकर्मीहरूको क्षमता विकासका लागि पनि विशेष कार्यक्रम सञ्चालन गर्ने लक्ष्य राखेको छ ।
चिकित्सकीय उपलब्धि र आगामी लक्ष्य
कीर्तिपुर अस्पतालका प्रा. डा. शंकरमान राईले विगतको तुलनामा जलनका बिरामी बचाउन सक्ने क्षमतामा उल्लेख्य सुधार आएको जानकारी दिनुभयो । “१० वर्षअघि ४० प्रतिशत जलेका बिरामी बचाउन कठिन थियो, अहिले ५० प्रतिशत जलेकामध्ये आधालाई बचाउन सक्ने भएका छौँ,” उहाँले भन्नुभयो, “महानगरको जस्तै सहयोग निरन्तर रहे आगामी १० वर्षभित्र ७० प्रतिशत जलन भएका बिरामीलाई पनि बचाउन सक्ने लक्ष्य हाम्रो छ ।”
यस सम्झौतासँगै अब जलन सम्बन्धी जनचेतना, प्राथमिक उपचार र सुरक्षा सम्बन्धी तालिमहरू समेत सञ्चालन गरिनेछ । महानगरले वीर अस्पताल, टिचिङ हस्पिटल र कान्ति बाल अस्पताल लगायतका ठूला सरकारी अस्पतालहरूलाई पनि पूर्वाधार र उपकरणमा सहयोग गर्दै आएको छ ।
