‘बा’को मुख हेर्ने दिन, छोराको मुख खोज्दै भौँतारिएका बाबुहरू
काठमाडौँ, भदौ २६ । आज कुशे औँसी । हिन्दु परम्पराअनुसार सन्तानहरूले आफ्ना बुबालाई मीठा परिकार ख्वाउने, उपहार दिने र ढोगेर आशीर्वाद लिने दिन । देशभरका घर–आँगनमा ‘बा’को मुख हेर्ने उल्लास छाइरहँदा चितवनको भरतपुरस्थित ‘शव पहिचान केन्द्र’को गेटमा भने एउटा फरक र कारुणिक दृश्य देखिन्थ्यो । त्यहाँ केही यस्ता ‘बा’हरू थिए, जो आफ्ना सन्तानबाट ढोग र मिठाई होइन, केवल आफ्ना हराएका छोराहरूको एउटा खबर वा अनुहार पर्खिरहेका थिए ।
भोटेकोशीको उर्लँदो बाढीले सिन्धुपाल्चोक, रसुवा र नुवाकोटमा वितण्डा मच्चायो । तर, त्यसको आँसुको बाछिटा चितवनसम्म आइपुगेको छ । पहाडबाट बगाएर ल्याएका शवहरू त्रिशूली र नारायणीका किनारमा भेटिन थालेपछि, आफ्ना बेपत्ता सन्तानको खोजीमा टाढा–टाढाबाट बुबाहरू यहाँ आइपुगेका हुन् ।
तस्बिरमा छोरो खोज्ने अली मोहम्मद
वीरगन्ज महानगरपालिका-२२ का अली मोहम्मद मियाँको हातमा एउटा तस्बिर छ । तस्बिर २२ वर्षीय छोरा साबुदिन मन्सुरीको हो । रसुवाको एउटा ग्यारेजमा मेकानिकको काम गर्ने साबुदिन बाढीपछि बेपत्ता भए । कुशे औँसीको दिन छोराले फोन गरेर ‘बा’ भन्ला भन्ने आशमा बसेका अली मोहम्मद अहिले अस्पतालका शवगृह र प्रहरी चौकीका ढोका ढकढक्याइरहेका छन् ।
“मेरो छोरो यी शवहरूमा छैन, कतै भेटिए खबर गरिदिनुहोला,” भक्कानिँदै उनले भने । उनको आँखामा आँसु मात्र छैन, एउटा बाबुको कहिल्यै नमेटिने प्रतीक्षा पनि छ । छोराले कमाएर ल्याउला र बुढ्यौलीको सहारा बन्ला भन्ने सपना बाढीले बगाएपछि अली मोहम्मदका गोडाहरू अहिले न्याय र पहिचानको खोजीमा गलेका छन् ।
सप्तरीदेखि चितवनसम्मको सकस
सप्तरीको खडक नगरपालिकाका भोला पासवान र डाक्नेश्वरी नगरपालिकाका अक्षयकुमार पासवानको व्यथा पनि उस्तै छ । कामको खोजीमा रसुवा पुगेका छोराहरू अखिलेश र निसित बाढीमा परेदेखि बेपत्ता छन् । शव पहिचान केन्द्रको भित्तामा टाँसिएका विभत्स शवका तस्बिरहरूमा आफ्ना छोराको आकृति खोज्नुपर्ने विवशता यी बाबुहरूका लागि कुनै कालखण्डको सबैभन्दा ठूलो सजाय बनेको छ ।
भोला भन्छन्, “सप्तरीबाट यहाँसम्म आइपुगेँ, तर केही पत्तो छैन । भित्र छिर्छु, तस्बिर हेर्छु, फेरि रित्तो हात बाहिर निस्कन्छु ।”
‘साँसको आश मर्यो, लासकै भए पनि आस’
कतिपय बाबुहरूले भने छोरा जीवितै फर्कने ‘साँस’को आश मारिसकेका छन् । उनीहरू अब कम्तीमा छोराको ‘लास’ भेटिए अन्तिम संस्कार गरेर मन बुझाउने मनस्थितिमा पुगेका छन् ।
बारा कलैयाका भगवान शर्मा र बर्दियाका रामबहादुर थारू यतिबेला डिएनए परीक्षणका लागि रगत दिँदैछन् । धेरै दिनसम्म शव नचिनिने अवस्थामा पुगेपछि डिएनए म्याचिङ नै अन्तिम विकल्प बनेको छ । रामबहादुर भन्छन्, “मेरो छोरासँगै १६ जना साथीहरू हराएका थिए । धेरै शव हेरेँ, तर चिन्न सकिएन । कम्तीमा डिएनएले छोरो पत्ता लागोस्, ताकि काजकिरिया त गर्न पाइयोस् ।”
आजको दिन फेसबुक र सञ्चारमाध्यमहरू ‘ह्याप्पी फादर्स डे’का तस्बिरहरूले भरिएका छन् । तर, चितवनको तातो घाममा भोक र प्यास बिर्सेर शवगृहको गन्धमा आफ्ना छोराको लुगा वा औँठी चिन्न खोज्ने यी बाबुहरूका लागि यो औँसी साँच्चिकै अन्धकार बनेको छ ।
कुशे औँसीको यो पावन दिनमा ती सबै हराएका छोराहरूका बाबुहरूलाई धैर्य गर्ने शक्ति मिलोस् । र, प्रकृतिको यो कहरले चुँडालेका पारिवारिक सम्बन्धहरूको घाउमा राज्य र समाजको सहानुभूतिले अलिकति भए पनि मलम लगाउन सकोस् ।