कर्णाली राजमार्गको गगने खोलामा पुनः पहिरो, यातायात अवरुद्ध
काठमाडौँ, भदौ १९ । कर्णाली राजमार्गअन्तर्गत कालिकोटको शुभकालिका गाउँपालिका–१ गगने खोलामा बुधबार राति पुनः पहिरो खसेको छ । यसअघि पनि पटकपटक पहिरो गई अवरुद्ध हुँदै आएको यो खण्डमा फेरि पहिरो खसेपछि राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ ।
प्रहरीका अनुसार, पहिरो पन्छाएर राजमार्ग सुचारु गर्न केही समय लाग्नेछ । गगने खोला क्षेत्रमा यसअघि शनिबारदेखि अवरुद्ध भएको राजमार्ग मंगलबार मात्रै सञ्चालनमा आएको थियो । तर, त्यसपछि पनि दुई पटक पहिरो खसेर राजमार्ग अवरुद्ध भएको थियो। लगातारको वर्षाका कारण यस क्षेत्रमा पहिरोको जोखिम बढेको छ ।
राजमार्ग अवरुद्ध हुँदा यात्रा गर्ने यात्रुहरूलाई असुविधा भएको छ भने दैनिक उपभोग्य वस्तुको ढुवानीमा समेत समस्या भएको छ ।