बाढी प्रभावित क्षेत्रमा सङ्क्रामक रोग फैलिन नदिन सरकारको विशेष सक्रियता : रसुवा र नुवाकोटमा विज्ञ टोली परिचालन

काठमाडौँ,  भदौ १६ । सरकारले रसुवा र नुवाकोटका बाढी प्रभावित क्षेत्रमा बाढीपश्चात् देखिन सक्ने सङ्क्रामक रोगहरूको प्रकोप रोक्न विशेष निगरानी र प्रतिकार्यका गतिविधिहरूलाई तीव्रता दिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय अन्तर्गतको स्वास्थ्य सङ्कटकाल तथा विपद् व्यवस्थापन एकाइ र स्वास्थ्य आपतकालीन कार्य सञ्चालन केन्द्रले प्रभावित क्षेत्रमा स्वास्थ्य प्रतिकार्यको नेतृत्व गरिरहेका छन् ।

विशेष कार्ययोजना र जनशक्ति परिचालन
मन्त्रालयका सहसचिव हेमन्तचन्द्र ओझाका अनुसार ‘विपत पश्चात् सरुवा रोग निगरानी तथा प्रतिकार्य योजना’ स्वीकृत गरी कार्यान्वयनमा ल्याइएको छ । सोही योजना अन्तर्गत विपद्को दोस्रो दिनदेखि नै चिकित्सकको कमाण्डमा विशेष स्वास्थ्य टोलीहरू प्रभावित जिल्लामा खटिएका छन् ।

सङ्क्रामक रोगको निगरानी र नियन्त्रणलाई वैज्ञानिक बनाउन ‘फिल्ड इपिडेमोलोजी ट्रेनिङ प्रोग्राम’ बाट प्रशिक्षित विज्ञहरूसहितको दुईवटा टोली रसुवा र नुवाकोटमा परिचालित छन्। यसका साथै विश्व स्वास्थ्य सङ्गठनको सहयोगमा थप दुई जना मेडिकल निगरानी अधिकारी र युनिसेफको सहकार्यमा खानेपानी तथा सरसफाइ सम्बन्धी कार्यक्रमहरू अघि बढाइएको मन्त्रालयले जनाएको छ ।

प्रविधिमार्फत रोगको निगरानी
प्रभावित क्षेत्रमा ज्वरो तथा झाडापखालाजन्य रोगहरूको प्रकोप फैलिन नदिन ‘निगरानी, प्रकोप प्रतिकार्य व्यवस्थापन तथा विश्लेषण प्रणाली’ सञ्चालनमा ल्याइएको छ। यस प्रणालीमार्फत बिरामीहरूको नियमित र कडा अनुगमन भइरहेको छ। र्‍यापिड रेस्पोन्स कमिटीले परिस्थितिको निरन्तर आकलन गरी आवश्यक कदम चालिरहेको ओझाले जानकारी दिनुभयो।

अन्य स्वास्थ्य सेवा र जनचेतना
रोग नियन्त्रणका अतिरिक्त मन्त्रालयले प्रभावित क्षेत्रमा अन्य अत्यावश्यक सेवाहरू पनि उपलब्ध गराइरहेको छ 

  • एम्बुलेन्स सेवा : प्रभावित क्षेत्रमा १०२ वटा एम्बुलेन्सहरू परिचालन गरिएका छन् ।

  • मानसिक स्वास्थ्य : विपद्का कारण पर्न सक्ने मानसिक असरलाई ध्यानमा राखी ३० जना स्वास्थ्यकर्मीको टोली परामर्शका लागि खटाइएको छ ।

  • सचेतना कार्यक्रम : नेपाली सेनाले प्रभावित बस्तीहरूमा स्वास्थ्य सतर्कता अपनाउन माइकिङमार्फत सचेतना गराइरहेको छ भने राष्ट्रिय स्वास्थ्य, शिक्षा, सूचना तथा सञ्चार केन्द्रले जनचेतनामूलक सूचना प्रवाह गरिरहेको छ ।

बाढी प्रभावित क्षेत्रमा खानेपानीको शुद्धता र व्यक्तिगत सरसफाइमा विशेष ध्यान दिन स्वास्थ्य मन्त्रालयले सर्वसाधारणमा अपिल समेत गरेको छ ।