बाढीको तथ्याङ्क दैनिक उपलब्ध गराइरहेका छौं : चिनियाँ दूतावास

काठमाडौँ, १६ भदौ । काठमाडौँस्थित चिनियाँ दूतावासले बाढी प्रभावित क्षेत्रको जल तथा मौसम सम्बन्धी तथ्याङ्क नेपाललाई दैनिक रूपमा उपलब्ध गराइरहेको स्पष्ट पारेको छ । दूतावासका प्रवक्ताले एक विज्ञप्ति जारी गर्दै नेपाललाई आवश्यक सूचना नदिएको भन्ने आरोपहरू तथ्यहीन र भ्रामक भएको बताएका हुन् ।

विज्ञप्तिअनुसार गत अगस्ट २६ (भदौ १० गते) मा केरुङ-रसुवागढी नाका क्षेत्रमा आएको भीषण पहिरोका कारण चीनतर्फका जल-मौसम मापन केन्द्रहरूमा क्षति पुगेको थियो । सो क्षेत्रमा यातायात अवरुद्ध हुनुका साथै सञ्चार सिग्नलमा समेत अस्थिरता आएको भए पनि चीनले डाटा प्रशारण च्यानलहरू पुनःस्थापना गरी तथ्याङ्क पठाउन हरसम्भव प्रयास गरेको दूतावासले उल्लेख गरेको छ ।

प्रभावित क्षेत्रको मुख्य जल तथा मौसम सम्बन्धी तथ्याङ्क चीनले नेपालको जल तथा मौसम विज्ञान विभागलाई दैनिक रूपमा उपलब्ध गराइरहेको विज्ञप्तिमा जनाइएको छ । साथै, अन्य सम्बन्धित नेपाली अधिकारीहरूसँग पनि समयमै आवश्यक जानकारी र जोखिमको अवस्थाबारे सूचना साझा भइरहेको दूतावासको दाबी छ ।

चीनमाथि लगाइएको ‘पारदर्शिताको अभाव’ सम्बन्धी आरोप तथ्यहरूसँग मेल नखाने भन्दै दूतावासले यस्ता कुराले नेपाल र चीनबीचको विपद् व्यवस्थापन र राहत सहकार्यलाई खल्बल्याउने उद्देश्य राखेको टिप्पणी गरेको छ ।

चीनले मानवीय भावनालाई उच्च प्राथमिकता दिँदै आएको र नेपालको विपद् प्रतिकार्य सम्बन्धी निर्णय प्रक्रियामा पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाएको छ । दुवै देशका जनताको जीउधनको सुरक्षाका लागि ठोस कदम चाल्दै आएको उल्लेख गर्दै चीनले आगामी दिनमा पनि नेपाललाई सङ्कटबाट पार पाउन र पुनर्निर्माणमा निरन्तर सहयोग जारी राख्ने स्पष्ट पारेको छ।