न्युक्यासल, टोटनहाम, फुल्हम र बोर्नेमाउथ विजयी
लन्डन, २९ भदौ । इङगलिस प्रिमियर लिगमा शनिबार राति न्युक्यासलले वोल्भरहाम्पटनलाई १–० ले पराजित गर्यो । न्युक्यासलका लागि नयाँ खेलाडी वोल्टेमान्डेले निर्णायक गोल गरे । जर्मनीका वोल्टेमानडे नौ करोड ३० लाख डलरमा न्युक्यासल आएको हो ।
टोटनहाम, फुल्हम र बोर्नेमाउथले जित हात पारे । टोटनहामले वेस्ट हामलाई ३–० ले पराजित गर्यो । घरेलु टिम वेस्ट हामका टोमस सोउसेकले उत्तरार्धमा रातो कार्ड पाएपछि पनि टोटनहामलाई खेल सहज बनेको थियो । टोटनहामका लागि पापे सार, लुकास बर्गभल र मिकी भान ड भेनले गोल गरे । एन्टोनी सेमेन्योले पेनाल्टीमा गोल गरेपछि बोर्नेमाउथले ब्राइटनलाई २–१ ले पराजित गर्यो । फुल्हमले लिड्सलाई १–० ले पराजित गर्यो । चेल्सी भने ब्रेन्टफोर्डसँग २–२ ले बराबरीमा रोकियो । चेल्सीले इन्जुरी समयको तेस्रो मिनेटमा गोल वेहोरेर शीर्ष स्थानमा रहने अवसर गुमायो ।
अन्य खेलमा एस्टन भिल्लाले इभर्टन र क्रिस्टल प्यालेसले सन्डरल्यान्डसँग गोलरहित बराबरीमा खेले ।