जेनजी आन्दाेलनमा कारागार फाेडेर भागेका ८ हजार कैदीबन्दी अझै फर्केनन्

काठमाडौं, ३ असोज । जेनजी आन्दोलनको क्रममा २४ भदौमा कारागार तोडफोड र आगजनी गरेर भागेका कैदीबन्दी मध्ये ८ हजार भन्दा बढी कैदी अझै सम्पर्कमा नआएकाे जनाएकाे छ ।

कारागार व्यवस्थापन विभागको तथ्यांकअनुसार अझै पनि ८ हजार ३७५ कैदीबन्दीहरू फरार छन् । कारागारतर्फ ७ हजार ७५३ र सुधारगृह तर्फ ६२२ गरी ८ हजार ३५७ कैदीबन्दी अझै फरार रहेको विभागले बताएको छ ।

देशभरका विभिन्न २८ वटा कारागार र ९ वटा बाल सुधार गृहबाट गरी १४ हजार ५५५ कैदीबन्दी भागेका थिए । जसमा कारागारबाट १३ हजार ५९१ र बाल सुधार गृहबाट ९६४ जना भागेका थिए ।

ती मध्ये अहिलेसम्म कारागारतर्फ ५ हजार ८३८ र बाल सुधारगृहतर्फ ३४१ गरी ६ हजार १७९ कैदीबन्दी फिर्ता आएको विभागका निर्देशक चोमेन्द्र न्यौपानले जानकारी दिए ।

२४ गते साँझसम्म देशभरका कारागारमा २९ हजार २१२ र बाल सुधार गृहतर्फ १ हजार ४२२ गरी ३० हजार ६३४ कैदीबन्दी थिए । जसमध्ये कारागारतर्फ १५ हजार १५८ र बाल सुधार गृहतर्फ ३६३ गरी १५ हजार ५२१ कैदीबन्दी भने भागेका थिएनन् ।

भाग्न खोज्नेलाई नेपाली सेनाले नियन्त्रण लिने क्रममा कैदीतर्फ ५ र बाल सुधार गृहतर्फ ५ गरी १० जनाको मृत्यु समेत भएको थियो ।

मृत्यु हुनेमा रामेछाप कारागारका ३ जना, धादिङ कारागारका २ जना र नौबस्ता बाल सुधार गृहका ५ जनाको मृत्यु भएको थियो ।