दशैं विशेष

शंखमुलको शंकर तीर्थ

काठमाडौं, ६ असाेज । काठमाडौंमा मनाइने दशैं (मोहनी) पर्वको दश दिन काठमाडौंको दश वटै तीर्थहरुमा स्नान गरी नवरात्रि मनाउने गरिन्छ ।

दशैं भरी नवरात्रि जानु काठमाडौंमा मनाइने मोहनी पर्वको मौलिक परम्परा हो । अहिले भने यो परम्परा लोप हुँदै जान थालेको छ ।

मोहनी पर्वको पहिलो दिन अर्थात् आज घटस्थापना नवरात्रिको पनि पहिलो दिन हो । आजका दिन बिहान सबेरै शंखमुलस्थित शंकर तीर्थमा स्नान गर्ने परम्परा छ । हाल ललितपुर महानगरपालिका वडा नं. ९ स्थित यस तीर्थमा स्नान गरी भक्तजनहरु तीर्थ स्थल माथितिर रहेको सिकबहीस्थित चामुन्दा महालक्ष्मीको पीठमा गई पूजा गर्ने परम्परा रहेको छ ।

काठमाडौंमा विभिन्न नदी तथा खोलाहरु एक आपसमा मिसिएको दोभानलाई पवित्र तीर्थ स्थलका रुपमा लिने गरिन्छ । नवरात्रिका बेला स्नान गर्न जाने पनि त्यस्तै विभिन्न दोभानहरुमै हो ।

पहिलो दिन मेला भर्न जाने शंकर तीर्थको दोभानमा बागमती नदी र मणिरोहिणी नदी एक आपसमा मिसिने गर्दछ । यो दोभानमा गुलाबी रंगको शंखपाल नागराजको बास रहेको विश्वास गरिन्छ ।
यो तीर्थमा स्नान गरिसके पछि जाई फूल चढाएर पूजा गर्ने चलन छ । यहाँ स्नान गरी पूजा गर्नाले विभिन्न प्रकारका उपद्रहरु शान्त भएर जाने जनविश्वास रहेको छ ।

काठमाडौं भित्री नगरका स्थानीयवासीहरु यो तीर्थमा नवरात्रि जाने बेला बिहान ३ बजे नै बाजागाजासहित प्रस्थान गर्दथे । यी तीर्थहरुमा नवरात्रि जाँदा बिहान आकाशमा तारा रहेकै बेला जानु पर्दछ भन्ने मान्यता रहेको छ ।

शंकर तीर्थ रहेको शंखमुल क्षेत्रलाई अहिले ललितपुर महानगरपालिका र अन्य स्थानीय निकायहरु मिलेर नयाँ स्वरुपमा सौन्दर्यकरण गरिएको छ । बागमती नदीको चौडाइ पहिलेको तुलनामा धेरै साँघुरो भइसकेको छ भने नदीले छोडेको खाली ठाउँमा अहिले एउटा ठूलो सेतो रंगको शंखसहित कलात्मक पार्क निर्माण गरिएको छ ।

संस्कृतिविद्हरु भने शंखपाल नागराजको वासस्थान भएकोले शंखमुल नाम रहन गएको यो स्थानमा शंखको प्रतिमा राख्नुको कुनै अर्थ भने नरहेको बताउनुहुन्छ ।

नदी छेउको खाली ठाउँमा पार्क बनाइए पनि यहाँ बागमती नदीमा मिसिन आएको मणिरोहिणी नदी भने हराइसकेको छ । तथापि यहाँ मणिरोहिणी नदी खुल्ला रुपमा नभई भूमिगत रुपमा बगेर आइरहेको छ भन्ने विश्वास गरिन्छ ।

एउटा नदी हराइसकेको कारणले यो ठाउँको दोभान पनि अहिले भेटिँदैन । स्नान गर्न अहिले पानीको ट्यांकी व्यवस्था गरिएको छ । नवरात्रि आउने तीर्थालु होस् वा श्राद्ध कर्म गर्न आउने भक्तजन होस्, सबैजना अहिले नदीको पानीमा हात मात्र चोपलेर स्नानका लागि भने ट्यांकीकै पानी प्रयोग गर्ने गर्दछन् ।

हिमवत्खण्ड ग्रन्थमा शंखमुललाई गंगा नदीभन्दा सय गुणा पवित्र तीर्थस्थलका रुपमा वर्णन गरिएको छ ।