पाकिस्तान एसिया कपको फाइनलमा

दुबई, असोज १० गते । पाकिस्तानले बिहिबार राति बङगलादेशलाई ११ रनले हराएर एसिया कपको फाइनलमा स्थान बनाएको छ ।

तेज बलरद्वय साहिन आफ्रिदी र ह्यारिस राउफले मिलेर छ विकेट लिनुका साथै स्पीनरद्वय सइम अयूब मोहम्मद नवाजले पनि किफायती बलिङ गरेपछि बङगलादेश लक्ष्यसम्म पुग्न सकेन । पाकिस्तानले पहिले ब्याटिङ गरी आठ विकेटको क्षतिमा १३५ रन बनाएको थियो । बङगलादेशले जवाफमा नौ विकेटको क्षतिमा १२४ रन मात्र बनाउनसक्यो । बङगलादेशका लाग समिम हुसेनले सर्वाधिक ३० रन बाहेक अन्यले उल्लेखलायक ब्याटिङ गर्न सकेनन् ।

आफ्रिदीले १७ रन र राउफले ३३ रनमा तीन–तीन विकेट लिए । स्पीनर सइम अयुबले चार ओभरमा मात्र १६ रन खर्चेर दुई विकेट नवाजले १३ रन दिएर एक विकेट लिए ।

यसअघ पाकिस्तानका लागि मोहम्मद हरिसले २३ बलमा सर्वाधिक ३१ रन बनाएका थिए । नवाजले १५ बलमा २५ र आफ्रिदीले १४ बलमा १९ रन बनाएर ब्याटिङबाट पनि उपयोगी योगदान दिए । अलराउन्ड खेल देखाउने आफ्रीदी प्लेअर अफ दि म्याच पनि घोषित भए । बङगलादेदशका लागि तस्किन अहमदले २८ रन खर्चेर सर्वाधिक तीन विकेट लिए ।

पाकिस्तानले आइतबार परम्परागत प्रतिदन्दी भारतविरुद्ध उपाधि भिडन्त गर्नेछ । यस प्रतियोगितामा पाकिस्तान र भारतबिच तेस्रो पटक भिडन्त हुन लागेको हो । यसअघि, समूह चरण र सुपर फोरमा भारतले पाकिस्तानलाई हराएको थियो ।