वीरगन्ज दसैँ मेलामा दुई समूहबिच झगडा, एक जनाकाे मृत्यु

वीरगन्ज, १५ असाेज । वीरगन्जमा दसैँ मेला लागिरहेकाे बेला मंगलबार राति दुई समूहबिच भएको झगडामा एक जनाको मृत्यु भएकाे छ ।
प्रहरीका अनुसार मेलामा पसल राख्ने विषयलाई लिएर भएको विवादका कारण झगडा चर्किँदा २० वर्षीय गोल्डेन नाम गरेका युवकको मृत्यु भएको हो ।
प्रहरीकाअनुसार गीता मन्दिर नजिक मेलाको सुरुवाती दिनमै दुई समूहबिच विवाद सुरु भएको प्रारम्भिक अनुसन्धानमा खुलेको छ । सोही विवादले राति हिंसात्मक रूप लिँदा गोल्डेनमाथि भाटोले प्रहार गरिएको थियो । गम्भीर घाइते भएका उनलाई उपचारका लागि नारायणी अस्पताल पुर्याइए पनि राति नै मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटनामा संलग्न भएको आशङ्कामा प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएको छ । तर, अनुसन्धान जारी रहेकाले उनीहरूको नाम गोप्य राखिएको प्रहरीले जनाएको छ ।
नियन्त्रणमा लिइएकाहरूसँग सोधपुछ भइरहेको र घटनाबारे थप विवरण सङ्कलन गर्न सूक्ष्म अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ ।