सुनकोशीमा बेपत्ता दम्पतीमध्ये श्रीमतीको शव ओखलढुंगामा फेला, श्रीमान् अझै बेपत्ता

काभ्रे, २४ साउन । काभ्रेको दोलालघाटस्थित सुनकोशी नदीमा हामफालेर बेपत्ता भएका दम्पतीमध्ये श्रीमतीको शव ओखलढुंगामा फेला परेको छ । मण्डनदेउपुर नगरपालिका–७ निवासी ६७ वर्षीया तिलकुमारी पराजुलीको शव ओखलढुंगाको हर्कपुरस्थित सुनकोशी नदी किनारमा फेला परेको हो ।

जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी निरीक्षक कविन राईका अनुसार ओखलढुंगामा फेला परेको शवको हुलिया र फोटो काभ्रेस्थित आफन्तलाई पठाइएको थियो । आफन्तले फोटो हेरेर प्रारम्भिक सनाखत गरेपछि शव तिलकुमारीकै भएको पुष्टि भएको हो ।

ओखलढुंगाका प्रहरी नायब उपरीक्षक (डीएसपी) राज महर्जनले स्थानीयले नदी किनारमा शव देखेपछि प्रहरीलाई खबर गरेको जानकारी दिए । “हामीले शवको फोटो काभ्रे प्रहरीलाई पठाएका थियौँ, आफन्तले तीलकुमारीको शव भनेर पहिचान गर्नुभएको छ,” डीएसपी महर्जनले भने, “औपचारिक कानुनी प्रक्रियाका लागि आफन्तहरू ओखलढुंगा आउँदै हुनुहुन्छ ।”

गएको बुधबार साँझ भुम्लु गाउँपालिका–८ स्थित दुलालेश्वर महादेव मन्दिर नजिकैबाट ६८ वर्षीय केदारनाथ पराजुली आफ्नी श्रीमती तिलकुमारीलाई पिठ्युँमा बोकेर सुनकोशी नदीमा हेलिएका थिए । श्रीमतीको शव भेटिए पनि केदारनाथको अवस्था भने अझै अज्ञात छ ।
घटनालगत्तै नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली खोजी कार्यमा खटिए पनि वर्षाका कारण नदीमा पानीको बहाव उच्च भएकाले उद्धार र खोजीमा कठिनाइ भइरहेको छ । पराजुली दम्पतीले के कति कारणले नदीमा हामफालेका हुन् भन्नेबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।