कार्य समितिकै पदाधिकारीले मागे एन्फा अध्यक्षको राजीनामा

काठमाडौँ, असोज २७ गते । अखिल नेपाल फुटबल संघ (एन्फा)का वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्कासहित केही पदाधिकारीले सोमबार एन्फा नेतृत्वको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गर्दै अध्यक्ष पंकजविक्रम नेम्वाङको राजीनामा माग गरेका छन् ।

खड्कासहित एन्फा उपाध्यक्ष विराटजङग शाही तथा सदस्यहरू रविन चन्द ठकुरी र रुपेश अधिकारीले सोमबार पत्रकार सम्मेलन गरी नेपाली फु्टबलको वर्तमान अवस्थाप्रति चिन्ता प्रकट गरे ।

वरिष्ठ उपाध्यक्ष खड्काले नएन्फा नेतृत्वलाई क्लब, खेलाडी, प्रशिक्षक, रेफ्री र समर्थकजस्ता सरोकारवालालाई बेवास्ता गरेको, लिग सञ्चालनमा उदासीनता देखाएको, अन्तर्राष्ट्रिय खेल सञ्चालनमा असफल भएको, अपरादर्शी आर्थिक गतिविधि, खेलाडी प्रोत्साहनमा कमी र साधारण सभामा तय गरेका कार्यक्रम समयमै नगरेको आरोप लगाएका छन् ।

यसैगरी अन्तर्राष्ट्रिय खेल आयोजना गर्न असफल र खेलाडीलाई वाचा गरिएका पुरस्कार नदिनु जस्ता कारण पनि असन्तुष्ट पक्षले देखाएको छ ।