कांग्रेसमा विशेष महाधिवेशनको माग सशक्त बन्दै: २४ सय बढी प्रतिनिधिले गरे हस्ताक्षर

काठमाडौं, २८ असोज। नेपाली कांग्रेसभित्र विशेष महाधिवेशनको माग सशक्त रूपमा अघि बढेको छ। सोमबार साँझसम्म विशेष महाधिवेशनको पक्षमा २ हजार ४ सय ३९ जना महाधिवेशन प्रतिनिधिले हस्ताक्षर गरिसकेका छन्।

१४ औं महाधिवेशनमा कुल ४ हजार ७ सय ४३ प्रतिनिधि रहेकोमा यो संख्या बहुमतभन्दा बढी हो। विशेष महाधिवेशनका लागि हस्ताक्षर संकलन अभियानको अगुवाइ गरिरहेका केन्द्रीय सदस्य मधु आचार्यले ५१ प्रतिशतभन्दा बढी प्रतिनिधिले हस्ताक्षर गरिसकेको दाबी गरेका छन्।

“हिजो साँझ ७ बजेसम्म २४ सय ३९ जनाले हस्ताक्षर गरिसक्नु भएको छ,” आचार्यले अनलाइनखबरसँग भन्नुभयो, “विदेशस्थित जनसम्पर्क समिति र विभिन्न जिल्लाहरूबाट थप हस्ताक्षर आइरहेका छन्, जसलाई हामी सूचीकृत गर्दैछौं। ५५ प्रतिशतभन्दा बढीले हस्ताक्षर गर्ने देखिन्छ।”

महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको सक्रियतामा यो हस्ताक्षर संकलन अभियान चलाइएको हो। संकलित हस्ताक्षर मंगलबार नै पार्टीलाई बुझाउने तयारी गरिएको छ।

आज दिउँसो १ बजे बस्ने गरी केन्द्रीय कार्यसमितिको बैठक बोलाइएको छ। केन्द्रीय समिति बैठकअघि नै हस्ताक्षर पेश गरिने नेता आचार्यले जानकारी गराएका छन्।

कांग्रेसको विधानमा ४० प्रतिशत महाधिवेशन प्रतिनिधिले लिखित माग गरेमा ३ महिनाभित्र विशेष महाधिवेशन बोलाउनुपर्ने व्यवस्था छ।

मंसिरभित्र नियमित महाधिवेशनका लागि पार्टीको संस्थापन पक्ष तयार नभए विशेष महाधिवेशन गर्ने उद्देश्यका साथ महामन्त्री थापा र शर्माले यो हस्ताक्षर संकलन अभियानलाई तीव्रता दिएका छन्। यसले पार्टीभित्रको आन्तरिक शक्ति सन्तुलनमा महत्त्वपूर्ण प्रभाव पार्ने देखिन्छ।