साताको अन्तिम दिन सेयर बजारमा ११ अङ्कको गिरावट, कारोबार रकम भने साढे ५ अर्ब नाघ्यो
काठमाडौँ, २२ जेठ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक शुक्रबार दोहोरो अङ्कले घटेर बन्द भएको छ। अघिल्लो कारोबार दिन बिहीबार ओरालो लागेको बजारले साताको अन्तिम दिन पनि सोही घट्दो लयलाई निरन्तरता दिएको हो।
यस दिन नेप्से परिसूचक ११.३७ अङ्कले घटेर २७५५.४१ विन्दुमा ओर्लिएको छ। यसैगरी सेन्सेटिभ इण्डेक्स १.७७ अङ्क, फ्लोट इण्डेक्स ०.७१ अङ्क र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.६२ अङ्कले घटेको छ।
नेप्से घटे पनि यस दिन सेयर कारोबार रकममा भने उल्लेख्य वृद्धि भएको छ। बिहीबार रु. ४ अर्ब ७० करोडको सेयर खरिद–बिक्री भएको बजारमा शुक्रबार ३५१ कम्पनीको ५५ हजार ४६७ पटकको कारोबारमा रु. ५ अर्ब ६२ करोड ५६ लाख ११ हजार बराबरको १ करोड २७ लाख ३२ हजार कित्ता सेयर खरिद–बिक्री भएको छ।
शुक्रबारको कारोबारमा पनि कालिञ्चोक हाइड्रोपावरको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। सो कम्पनीको सेयर मूल्य रु. ९८.८० ले बढेर अन्तिम कारोबार प्रतिसेयर रु. ७५७.६० कायम भएको छ।
यस्तै, उपकार लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य साढे ९ प्रतिशतभन्दा बढीले बढेको छ। यस दिन सेयर मूल्य घटेका कम्पनीहरूको गिरावट दर साढे ४ प्रतिशतभन्दा कममा सीमित रहेको छ।
कारोबार रकमका आधारमा आँखु खोला जलविद्युत कम्पनी रु. ५५ करोड ६९ लाख ६ हजार सहित शीर्ष स्थानमा रहेको छ। यस्तै, सिटी होटलको साढे १९ करोडभन्दा बढी र १०.२५ प्रतिशत ब्याजदरको ‘एनबीबीएल डिबेन्चर २०८५’ को रु. १८ करोड ५० लाखभन्दा बढीको सेयर खरिद–बिक्री भएको छ।
यस दिन कारोबारमा आएका १३ उपसमूहमध्ये ४ उपसमूहको परिसूचक बढेको छ भने ९ उपसमूहको घटेको छ। वित्त उपसमूहको परिसूचक सर्वाधिक २.७७ प्रतिशतले बढेको छ भने होटल तथा पर्यटन, म्युचुअल फण्ड र निर्जीवन बीमा उपसमूहको सूचक सामान्य अङ्कले बढेको छ।