सतर्कता केन्द्रको छड्के अनुगमन तीव्र: ६ हजार ७ सय कर्मचारीले समय पालना गरेनन्, ११ सय बढी विना पोशाक फेला
काठमाडौँ, २२ जेठ । राष्ट्रिय सतर्कता केन्द्रले सरकारी कार्यालयहरूमा अनुशासन र सुशासन कायम राख्न छड्के अनुगमन कार्यलाई तीव्रता दिएको छ। केन्द्रले हाल दैनिक करिब १० वटा सरकारी कार्यालयहरूमा आकस्मिक अनुगमन गरिरहेको छ।
केन्द्रकी सूचना अधिकारी सरिता खतिवडाका अनुसार चालू आर्थिक वर्षको साउन महिनायता केन्द्रले देशभरका १ हजार १३० वटा सरकारी कार्यालयहरूमा छड्के अनुगमन गरिसकेको छ। सो अनुगमनका क्रममा ६ हजार ७१० जना कर्मचारीहरूले कार्यालय समय पालना नगरेको र १ हजार १६२ जना कर्मचारीहरूले तोकिएको सरकारी पोशाक नलगाएको पाइएको छ।
केन्द्रले पाँच वटा विशेष टोली परिचालन गरी कार्यालय समयमा कर्मचारीहरूको हाजिरी, पोशाक, र सेवा प्रवाह सम्बन्धी फाइल ट्राकिङको नियमित अनुगमन गरिरहेको छ। कतिपय कार्यालयमा दुईदेखि तीन पटकसम्म अनुगमन गरिएको र नियम पालना नगर्ने कर्मचारीहरूलाई कारबाहीका लागि सिफारिस पठाइएको सूचना अधिकारी खतिवडाले जानकारी दिनुभयो।
नियम पालना नगर्ने कर्मचारीहरूलाई निजामती सेवा ऐन, २०४९ को दफा ५५ बमोजिम सम्बन्धित कार्यालय प्रमुखले पहिलो चरणमा सचेत गराउँदै चेतावनी पत्र दिने र सोको अभिलेख राख्नुपर्ने कानुनी व्यवस्था छ। ऐन अनुसार दुई पटकसम्म चेतावनी पाइसकेका कर्मचारीहरूलाई विभागीय कारबाहीको दायरामा ल्याउने व्यवस्था छ।
केन्द्रले हाल सातै प्रदेशका बढी जनसम्पर्क हुने जिल्ला र सरकारी कार्यालयहरूलाई केन्द्रित गरी छड्के अनुगमन कार्यलाई तीव्रता दिइरहेको जनाएको छ।