द्वन्द्व अन्त्यका लागि प्रत्यक्ष वार्ता गर्न युक्रेनी राष्ट्रपति जेलेन्स्कीको रुसी राष्ट्रपति पुटिनलाई आह्वान
एजेन्सी, २२ जेठ । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई रूस र युक्रेनबीच विगत चार वर्षभन्दा लामो समयदेखि जारी द्वन्द्व अन्त्यका लागि प्रत्यक्ष वार्ता गर्न आह्वान गर्नुभएको छ।
राष्ट्रपति जेलेन्स्कीले जारी गर्नुभएको खुला पत्रमा युद्ध अन्त्य गर्ने प्रस्ताव इमानदारीपूर्वक, पारस्परिक मर्यादाका साथ र भविष्यमा पुनः युद्ध नहुने बलियो ग्यारेन्टीका साथ गरिनुपर्ने उल्लेख छ। उहाँले प्रस्तावित बैठकका लागि अन्तर्राष्ट्रिय मध्यस्थताको भूमिका निर्वाह गर्दै आएका स्विट्जरल्यान्ड, टर्की वा अरब मुलुकहरू उपयुक्त हुन सक्ने प्रस्ताव गर्नुभएको छ।
यसैगरी जेलेन्स्कीले वार्ता प्रक्रियाका दौरान आफ्नो देश पूर्ण रूपमा युद्धविराम लागू गर्न तयार रहेको स्पष्ट पार्नुभएको छ। यस युद्धविरामको पालना र अनुगमनका लागि संयुक्त राज्य अमेरिकासहित अन्य अन्तर्राष्ट्रिय साझेदार राष्ट्रहरूले सहयोग गर्न सक्ने उहाँको प्रस्ताव छ। यदि रुसले युद्धविराम र वार्ताको प्रस्ताव अस्वीकार गरेमा युक्रेनले आफ्नो अस्तित्वका लागि अन्तिमसम्म लडाइँ जारी राख्ने उहाँले दृढता व्यक्त गर्नुभएको छ।
युक्रेनी प्रस्तावको प्रतिक्रिया दिँदै क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले रूसले युद्धविरामको यस प्रस्तावलाई सकारात्मक रूपमा लिएको बताउनुभयो। उहाँले जेलेन्स्की वार्ताका लागि जुनसुकै समयमा मस्को आउन सक्ने समेत उल्लेख गर्नुभयो। यद्यपि, राष्ट्रपति पुटिनले हालसम्म युक्रेनी राष्ट्रपतिले पठाएको खुला पत्रको औपचारिक समीक्षा गरिनसकेकाले चाँडै यसबारे आधिकारिक धारणा सार्वजनिक गरिने पेस्कोभले जानकारी दिनुभयो।