सत्ता र शक्तिको बलमा विपक्षलाई निमिट्यान्न पार्ने बाटोमा लाग्नु हुँदैन: पूर्वप्रधानमन्त्री सुशीला कार्की
काठमाडौँ, २२ जेठ । पूर्वप्रधानमन्त्री सुशीला कार्कीले सरकारमा पुगेको पक्षले शक्ति र सत्ताको बलमा प्रतिपक्षी दलहरूलाई निमिट्यान्न पार्ने गलत बाटो रोज्न नहुने बताउनुभएको छ।
शुक्रबार निर्वाचन आयोगद्वारा काठमाडौँमा आयोजित केन्द्रीय समीक्षा कार्यशालाको उद्घाटन गर्दै पूर्वप्रधानमन्त्री कार्कीले लोकतान्त्रिक शासन व्यवस्थामा सत्तापक्ष र प्रतिपक्षबीचको प्रतिस्पर्धा स्वाभाविक रहेको उल्लेख गर्नुभयो। “राजनीतिक दलहरूबीच प्रतिस्पर्धा हुन्छ र एक–अर्काको कमजोरी औँल्याइन्छ। सत्ताधारीका कमजोरीमाथि प्रतिपक्षले सधैँ आवाज उठाउँछ र यसलाई सभ्य भाषामा भन्ने हो भने एक प्रकारको मार्गनिर्देशनका रूपमा लिनुपर्छ,” उहाँले भन्नुभयो, “तर, सत्तामा पुगेकै बलमा प्रतिपक्षीको खुट्टा तानेर ध्वस्त पार्ने र समाप्त पार्ने दिशामा लाग्नु लोकतन्त्र हितमा हुँदैन।”
पूर्वप्रधानमन्त्री कार्कीले गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन विश्वकै लागि अध्ययन गर्न लायक रहेको पनि बताउनुभएको छ। उहाँले प्रधानमन्त्री र सत्तारुढ दलका युवा नेताहरूलाई देश सञ्चालन गर्दा विगतको इतिहास, अनुभव र अग्रजहरूको योगदानलाई मनन गरेर अघि बढ्न सुझाव दिनुभयो। उहाँले थप्नुभयो, “अघिल्ला कुराहरू र इतिहासलाई मनन गरेर मुलुक चलाउँदा राम्रो हुन्छ। पार्टीका वर्तमान नेता तथा मन्त्रीहरू सधैँ जवान भइरहँदैनन्, समयसँगै सबैले एक दिन अग्रजहरूको स्थानमै पुग्नुपर्ने यथार्थलाई बिर्सन हुँदैन।” राजनीतिक दलहरूले नै मुलुक हाँक्ने भएकाले अग्रज नेताहरूलाई कहिल्यै पनि नजरअन्दाज गर्न नहुने उहाँको भनाइ थियो।
बहुदलीय व्यवस्थामा स्वस्थ प्रतिस्पर्धा, रचनात्मक आलोचना र विकल्पको खोजीले नै मुलुकलाई सही दिशामा डोर्याउन मद्दत पुग्ने उहाँले स्पष्ट पार्नुभयो।