एमाले केन्द्रीय कमिटी बैठक सुरु: ओलीद्वारा राजनीतिक प्रतिवेदन पेश गर्ने तयारी
काठमाडौं, २९ असाेज। नेकपा एमालेको १०औँ केन्द्रीय कमिटी बैठक ललितपुरको जावलाखेल भनिमण्डलस्थित रामबाघ महलमा केही बेरअघि सुरु भएको छ। जेनजी विद्रोहका कारण अध्यक्ष केपी शर्मा ओलीले सत्ताच्युत भएपछि एमालेको केन्द्रीय कमिटी बैठक पहिलोपटक बसेको हो।
बैठकमा अध्यक्ष ओलीले समसामयिक राजनीतिक घटनाक्रम समेटिएको राजनीतिक प्रतिवेदन केही बेरमा पेश गर्ने प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बताए। गौतमका अनुसार, प्रतिवेदनमा सरकार गठन प्रक्रिया र प्रतिनिधिसभा विघटन असंवैधानिक रहेको, प्रधानमन्त्रीले दलका शीर्ष नेतृत्वसँग अहिलेसम्म संवाद नगरेको, शान्ति र अमनचयनको आधार तयार नभइसकेकाले निष्पक्ष चुनावको सम्भावनाबारे आशंका व्यक्त गरिएको जस्ता विषयहरू समेटिएका छन्।
केही दिनअघि बसेको सचिवालय बैठकले पार्टी ११औँ महाधिवेशनमा जाने निर्णय गरिसकेको छ। आजको बैठकले महाधिवेशनको मिति र स्थान पनि तोक्नेछ।
एमालेले संविधान लोकतान्त्रिक गणतान्त्रिक पक्षधरसँग सहकार्य गर्दै संसद पुनर्स्थापनाको एजेण्डालाई सशक्त ढंगले उठाउने तयारी गरेको छ। साथै, केन्द्रीय कमिटी बैठकमा राजनीतिक प्रस्ताव र विविध विषयमा छलफल हुनेछ।
अध्यक्षको राजनीतिक प्रतिवेदनमाथि छलफलपछि इच्छुक केन्द्रीय सदस्यहरूलाई धारणा राख्न ३ मिनेटको समय दिने तयारी छ। नेतृत्व परिवर्तनदेखि पार्टी पुनर्गठनलगायतका विषयमा पनि बैठकमा छलफल हुने जनाइएको छ।