टप एण्ड टी–२० सिरिज खेल्न नेपाल ‘ए’ टोली अष्ट्रेलिया प्रस्थान, कप्तानीको कमाण्ड अनिल साहलाई

काठमाडौँ, २ भदौ । अष्ट्रेलियामा आयोजना हुने ‘टप एन्ड टी–२० सिरिज’ मा सहभागी हुन नेपाल ‘ए’ क्रिकेट टोली गएराति त्यसतर्फ प्रस्थान गरेको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले आइतबार नै बिदाइ गरेको १५ सदस्यीय टोली सिरिजका लागि अष्ट्रेलिया उडेको हो ।

यस भ्रमणमा नेपाली टोलीको नेतृत्व चर्चित ब्याटर अनिलकुमार साहले गर्नेछन् । क्यानले युवा र प्रतिभावान् खेलाडीहरूलाई अवसर दिँदै बलियो टोली अष्ट्रेलिया पठाएको हो ।
भदौ ५ देखि १३ सम्म यस्तो छ खेलतालिका
भदौ ५ गतेदेखि सुरु हुने यस सिरिजमा नेपालले आधा दर्जन बढी खेल खेल्नेछ । नेपालको खेल तालिका अनुसार
भदौ ५: नर्दन टेरिटोरी स्ट्राइक (पहिलो खेल)
भदौ ६: बङ्गलादेश हाई पर्फर्मेन्स
भदौ ८: होबार्ट हरिकेन्स एकेडेमी
भदौ १०: अस्ट्रेलियन क्यापिटल टेरिटोरी
भदौ ११: हैदरावाद किङ्समेन एकेडेमी
भदौ १३: भिक्टोरिया सीए–११

टी–२० सिरिज सकिएलगत्तै नेपाली टोलीले अष्ट्रेलियामै केही एकदिवसीय (५० ओभर) अभ्यास खेलहरू पनि खेल्ने तालिका छ । क्यानका अनुसार नेपाल ‘ए’ ले न्युजिल्याण्ड ‘ए’, तास्मानिया र साउथ अष्ट्रेलियाका टोलीहरूसँग प्रतिस्पर्धा गर्नेछ ।