किमसँग फेरि जोडियो ट्रम्पको सम्पर्क: दक्षिण कोरियासँगको सैन्य अभ्यास रोक्ने निर्णयपछि कुटनीतिमा नयाँ मोड

एजेन्सी, २ भदाै । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली नेता किम जोङ–उनसँग आफ्नो सम्पर्क पुनः स्थापित भएको सङ्केत गर्नुभएको छ। दक्षिण कोरियासँगको संयुक्त सैन्य अभ्यासबाट पछि हट्ने विवादास्पद निर्णय सार्वजनिक गरेको भोलिपल्टै ट्रम्पले किम र आफूबीचको संवाद सकारात्मक दिशामा अघि बढेको दाबी गर्नुभएको हो।

ह्वाइट हाउसमा पत्रकारहरूसँग कुरा गर्दै राष्ट्रपति ट्रम्पले किमले आफ्नो पछिल्लो सम्पर्क प्रयासको जवाफ दिएको बताउनुभयो। दोस्रो कार्यकाल सुरु भएपछि यी दुई नेताबीच अहिलेसम्म प्रत्यक्ष भेट नभए पनि ट्रम्पले आफ्नो सम्बन्धले कोरियाली प्रायद्वीपलाई ‘धेरै सुरक्षित’ बनाएको जिकिर गर्नुभयो।

पत्रकारहरूले किमले संवादको प्रस्तावलाई बेवास्ता गरेको हो कि भनी सोधेको प्रश्नमा ट्रम्पले प्रतिप्रश्न गर्दै भन्नुभयो, “तपाईंलाई कसरी थाहा छ कि उहाँले प्रतिक्रिया दिनुभएको छैन? हो, उहाँले जवाफ दिनुभएको छ र हाम्रो कुराकानी सकारात्मक छ।” ट्रम्पले किमले आफूलाई सधैँ सम्मान गर्ने गरेको र आफूहरूले एकअर्कालाई राम्रोसँग बुझ्ने समेत बताउनुभयो।

ट्रम्पले आइतबार राति मात्रै दक्षिण कोरियासँग हुने संयुक्त सैन्य अभ्यास फिर्ता लिन पेन्टागनलाई आदेश दिनुभएको थियो। ट्रम्पले यो निर्णयलाई इरानविरुद्धको अमेरिका–इजरायल युद्धसँग जोड्नुभएको छ।

दक्षिण कोरियाले इरानविरुद्धको सैन्य कारबाहीमा अमेरिकालाई सहयोग गर्न अस्वीकार गरेकोमा ट्रम्प रुष्ट देखिनुभएको छ। “हामी उनीहरूको रक्षाका लागि ३९ हजार सैनिक राख्छौँ, तर उनीहरू हामीलाई आवश्यक पर्दा सहयोग गर्दैनन् भने हामीले मात्र किन रक्षा गरिरहने?” ट्रम्पले भन्नुभयो। उहाँले दक्षिण कोरियासँगको अभ्यासलाई ‘अनुचित र शत्रुतापूर्ण’ को संज्ञा दिनुभएको छ।

यता दक्षिण कोरियाली राष्ट्रपति ली जे म्युङको कार्यालयले भने निर्धारित कार्यक्रमअनुसार नै सैन्य अभ्यास सुरु भएको र वासिङ्टनसँग समन्वय कायम रहेको जनाएको छ। सियोलले यो अभ्यास कसैप्रति लक्षित नभई आफ्ना नागरिकको सुरक्षा र शान्तिपूर्ण जीवनका लागि भएको स्पष्ट पारेको छ।

ट्रम्पको यो कदमको अमेरिकाभित्रै तीव्र आलोचना सुरु भएको छ। सिनेटको सशस्त्र सेवा समितिका सदस्य ज्याक रिडले ट्रम्पको निर्णयलाई ‘मूर्खतापूर्ण’ भन्दै यसले चीन र रुसलाई फाइदा पुग्ने बताउनुभयो। “अमेरिकी राष्ट्रपतिले आफ्ना पुराना सहयोगीलाई कति सजिलै त्याग्न सक्छन् भन्ने कुराले विश्वभर गलत सन्देश गएको छ,” रिडले टिप्पणी गर्नुभयो। ट्रम्पको यो पछिल्लो अभिव्यक्तिले उत्तर कोरियासँग पुनः उच्चस्तरीय वार्ताको ढोका खोल्न सक्ने देखिए पनि यसले अमेरिकाका परम्परागत मित्र राष्ट्रहरू जापान र दक्षिण कोरियामा भने सुरक्षा चिन्ता बढाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *