भीमफेदी जिप दुर्घटना: न्यायाधीश डाँगीसहित ४ घाइतेलाई हेलिकप्टरबाट काठमाडौँ ल्याइयो

काठमाडौँ, २ भदौ । मकवानपुरको भीमफेदीमा भएको जिप दुर्घटनामा गम्भीर घाइते भएका उच्च अदालत वीरगञ्ज इजलासका मुख्य न्यायाधीश गोकर्ण डाँगीसहित चार जनालाई थप उपचारका लागि काठमाडौँ ल्याइएको छ। नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरी उनीहरूलाई काठमाडौँको छाउनीस्थित वीरेन्द्र सैनिक अस्पताल पुर्‍याइएको हो।

प्रहरीका अनुसार मङ्गलबार बिहान करिब ७:०० बजे काठमाडौँबाट वीरगञ्जतर्फ जाँदै गरेको प्रदेश ३–०१–००२ झ ५१८३ नम्बरको सरकारी स्कारपियो जिप भीमफेदी गाउँपालिका–६ स्थित जुरिखेतमा दुर्घटनामा परेको थियो। गुडिरहेको जिप अचानक अनियन्त्रित भई सडकबाट करिब १०० मिटर तल खोल्सामा खसेको थियो।

दुर्घटनाग्रस्त जिपमा मुख्य न्यायाधीश डाँगीसहित कुल ६ जना सवार थिए। दुर्घटना लगत्तै स्थानीय र प्रहरीले उद्धार गरी उनीहरूलाई हेटौँडा अस्पताल पुर्‍याएका थिए। तर, न्यायाधीश डाँगीसहित चार जनाको अवस्था गम्भीर देखिएपछि चिकित्सकको सल्लाह र गृह मन्त्रालयको समन्वयमा नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाडौँ ल्याइएको हो।

बाँकी दुई जना घाइतेको अवस्था भने सामान्य रहेको र उनीहरूको हेटौँडामै उपचार भइरहेको प्रहरीले जनाएको छ।