जनकवि दुर्गालाल श्रेष्ठकाे पार्थिव शरीरलाई डल्लुस्थित मंका खलःको भवनमा अन्तिम श्रद्धाञ्जली दिइने, आजै राजकीय सम्मानका साथ अन्त्येष्टि गरिने

काठमाडौँ, २ भदौ । नेपाल भाषा र नेपाली साहित्यका शिखर व्यक्तित्व एवं ‘जनकवि’ दुर्गालाल श्रेष्ठको अन्तिम संस्कार आज (मङ्गलबार) गरिने भएको छ । ९३ वर्षको उमेरमा आइतबार राति बुढानीलकण्ठस्थित आफ्नै निवासमा निधन हुनुभएका श्रेष्ठको पार्थिव शरीरलाई भोलि विभिन्न स्थानमा श्रद्धाञ्जलीका लागि राखी अन्तिम संस्कार गरिने जानकारी दुर्गालाल प्रतिष्ठानले दिएको छ ।

नेपाल भाषा मंका खलः का अनुसार, दिवङ्गत श्रेष्ठको पार्थिव शरीरलाई आज दिउँसो ११:०० बजेदेखि २:०० बजेसम्म डल्लुस्थित मंका खलःको भवनमा अन्तिम श्रद्धाञ्जलीका लागि राखिनेछ । जनकवि श्रेष्ठ मंका खलः समूहका संरक्षक समेत हुनुहुन्थ्यो ।

श्रद्धाञ्जली सभापछि अपराह्न २:०० बजेपछि उहाँको शवयात्रा सुरु हुनेछ । शवयात्रा डल्लुबाट सुरु भई शोभभा भगवती पुल, धल्को, क्षेत्रपाटी, थँहिती, थायमरु, न्हायकन्तला (श्रेष्ठको जन्मस्थान), असन, जनबहाल, इन्द्रचोक, किलागल, नरदेवी हुँदै पुनः क्षेत्रपाटी र जोगीपाखा भएर कर्णदीप (विजयेश्वरी) पुग्नेछ ।

शवयात्राले नगरका भित्री भागहरूको परिक्रमा गरेपछि कर्णदीपस्थित विजयेश्वरी घाटमा उहाँको राजकीय सम्मानका साथ अन्तिम संस्कार गरिने बताइएको छ ।

नेवा भाषाको ‘राष्ट्रगान’ का रचयिता समेत रहनुभएका श्रेष्ठले पछिल्लो ६ दशकदेखि साहित्यका माध्यमबाट समाज रूपान्तरणमा ठुलो योगदान पुर्‍याउनुभएको थियो । विश्वप्रसिद्ध गीत ‘फूलको आँखामा फूलै संसार’ का सर्जक श्रेष्ठका कविता, नाटक र बाल साहित्यका दर्जनौँ कृतिहरू प्रकाशित छन् ।

नेपाल भाषा परिषद्ले उहाँलाई दुई दशकअघि ‘जनकवि’ को उपाधि दिएको थियो भने उहाँ जगदम्बा–श्री लगायतका प्रतिष्ठित पुरस्कारबाट सम्मानित हुनुहुन्थ्यो ।

उहाँको निधनले नेपाली र नेपाल भाषाको साहित्य क्षेत्रले एक अभिभावक र कर्मठ योद्धा गुमाएको भन्दै देश–विदेशमा रहेका साहित्यप्रेमीहरूले गहिरो दुःख व्यक्त गरिरहेका छन् ।