ओलीको स्पष्टीकरण: समृद्धि, शान्ति र सत्यको पक्षमा मेरो अडान

काठमाडौं, २ असाेज । पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशमा समृद्धि, समानता, शान्ति र नागरिकको जिउधनको सुरक्षाको प्रत्याभूति हुनुपर्ने आफ्नो आदर्श र मूल्यमान्यता रहेको बताउनुभएको छ।

उहाँले हरेक मानिसले सम्मानजनक जीवन जिउन पाउनुपर्नेमा जोड दिनुभयो। हालै ‘जेन–जी’ आन्दोलन र त्यसपछिका राजनीतिक घटनाक्रमबारे बोल्दै ओलीले आफू सरकारमा फर्किने त्रास सिर्जना गरिएकोमा आश्चर्य व्यक्त गर्नुभयो।

देश अस्थिरता र अनिश्चिततामा गएको भन्दै उहाँले कसैलाई मन परे पनि नपरे पनि आफ्नो वफादारी देशप्रति रहेको स्पष्ट पार्नुभयो। “देश, जनता र मानवजाति तथा समृद्धिका लागि काम गर्ने मान्छे हुँ,” ओलीले भन्नुभयो, “मैले प्रजातन्त्रका लागि काम गरेको छु, सत्यका पक्षमा हिँडेको छु र असत्यको विरोध गरेको छु। मेरो विचार र अडान अहिले पनि त्यसैमा कायम छ, बदलिएको छैन।”

उहाँले आफ्नो स्पष्ट बोलीलाई अरुले ‘दम्भ’ वा ‘अहंकार’ भनेर आलोचना गरे पनि त्यो सत्य बोल्ने बानी मात्र भएको बताउनुभयो।

‘जेन–जी’ आन्दोलन र गोलीकाण्डमाथि स्पष्टीकरण
ओलीले ‘जेन–जी’ आन्दोलनलाई तीन तहमा हेरेको बताउनुभयो। पहिलो चरणमा भ्रष्टाचार नियन्त्रण, सुशासन र रोकिएका सामाजिक सञ्जाल खोल्नुपर्छ भन्ने माग राखेर भएका प्रदर्शनलाई आफूले समर्थन गरेको बताउनुभयो। “उहाँहरुले प्रधानमन्त्रीको राजीनामाको माग गर्नुभएको थिएन, म तीनै कुराको पक्षमा थिएँ,” उहाँले भन्नुभयो।

राष्ट्रको स्वाभिमानको कदर गर्न नयाँ पुस्तालाई सिकाउनुपर्नेमा जोड दिँदै ओलीले आफू कुनै पनि चिजको आदतमा नपर्ने बताउनुभयो। “देशको स्वाभिमानभन्दा माथि मेरो कुनै आदत छैन,” उहाँले भन्नुभयो। ‘जेन–जी’ आन्दोलन शान्तिपूर्ण रहेको ब्रिफिङका आधारमा सुरक्षा घेरा तयार पारिएको तर टीओबीका नाममा भटभटे चलाउनेहरुले ब्यारिकेड तोड्ने प्रयास गरेपछि तनाव भएको उहाँको भनाइ थियो।

“जेन–जी भनिएका भाइहरुले हाम्रो आन्दोलन सफल भयो भनेर फर्किए,” उहाँले भन्नुभयो, “तर, केही समूहले त्यही नाममा घेरा हालेर संसद भवन तोडफोडमा अघि बढे।” प्रहरीलाई शान्ति सुरक्षा कायम गर्न अत्याधुनिक हतियार नदिएको बताउँदै ओलीले गोली चलेपछि गृहमन्त्रीलाई सोध्दा रबरको गोली चलेको जानकारी पाएको उल्लेख गर्नुभयो। दुई–चार जना विद्यार्थी मरेको सूचना पाएपछि आफूलाई दुःख लागेको र गोली चलाउनुपर्ने अवस्था किन आयो भनेर छानबिन आयोग बनाएको उहाँले बताउनुभयो। उहाँले भदौ २४ को लुटपाट र चोरीका लागि त्यो आतंक मच्चाइएको दाबी गर्नुभयो।

आफ्नो सम्पत्ति छानबिनको चुनौती
राजनीतिक दलहरूसँग घृणा गर्ने प्रवृत्ति बढेकोमा चिन्ता व्यक्त गर्दै ओलीले देश सबैको साझा भएको बताउनुभयो। “म ७३ वर्ष पूरा भैसकेँ, मेरो भन्दा धेरै बाँच्नुपर्नेहरु छन्,” उहाँले भन्नुभयो।
आफ्नो सम्पत्ति छानबिन गर्न चुनौती दिँदै ओलीले भन्नुभयो, “एउटा टोली बनाएर मेरो छानविन गर्नुहोस्। मेरो घरको, डेढेको घरको अवस्था हेरेर। मेराे खाता रोक्का गर्ने भन्ने कुरा सुन्छु। मेरो २०–२५ लाख होला? मेरो तलबको हिसाब गर्नु अनि छानविन गर्नु त्यो हिसाब निस्किन्छ।”

आक्रोश र आवेगभन्दा पनि सत्य स्थापित हुनुपर्नेमा जोड दिँदै उहाँले सबैको छानबिन गर्नुपर्ने बताउनुभयो। “कहिलेदेखिको चाहिन्छ, त्यो सबै छानविन गरौँ,” उहाँले भन्नुभयो, “तर, सबैको गरौँ। देश मेरो मात्रै होइन। गरौँ शंका लागेका ठाउँ सबैको गरौँ।”

अन्त्यमा, ओलीले ‘नेपोबेबी’ अभियानको विरोध गर्नुभयो। “भर्खरै हुर्किँदै गरेका बच्चाहरुलाई नेपोबेबी भनेर तर्साउँदा उनीहरुको मनोविज्ञान के हुन्छ? त्यसो नगर्नुहोस,” उहाँले भन्नुभयो, “नेपोबेबी भन्ने अभियानलाई म समर्थन गर्दिन। यसलाई अहंकार भन्नुहुन्छ होला तर म समर्थन गर्दिन। कुन बाबुआमाले छोराछोरीलाई माया गर्दैन होला? उसले विद्यालय जाँदा आतंकित हुनुपर्ने अवस्था छ।”