जेनजी आन्दाेलनमा नवलपरासी कारागारबाट फरार भएका कैदी पाल्पामा पक्राउ

पाल्पा, ९ कात्तिक । जिल्ला कारागार नवलपरासीबाट फरार भएका एक कैदी पाल्पाबाट पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार लागु औषध मुद्दामा नवलपरासी कारागारमा रहेका कास्की पोखरा महानगरपालिका वडा नं. २१ बस्ने २८ वर्षीय श्याम मगर भनिने समीर गुरुङ पक्राउ परेका हुन्।

गत भदौ २४ गते कारागारबाट फरार भएका श्याम भनिने समीरलाई पाल्पाको तानसेन नगरपालिका वडा नं. १० साङिखोलाबाट पक्राउ गरिएको हो।

जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक होम प्रकाश चौधरीले ससुराली घरमा लुकिछिपी बसेका गुरुङलाई आइतबार बिहान सवा ३ बजेतिर प्रहरी चौकी प्रभासको टोलीले पक्राउ गरेको बताए।

पक्राउ परेका गुरुङलाई जिल्ला कारागार पाल्पामा पठाइएको चौधरीले जानकारी दिए।