अभिभावकको मोबाइल प्रयोगले बालबालिकामा नकारात्मक असर, बच्चासँग हुँदा फोन टाढा राख्न स्विडेनको सुझाव

एजेन्सी, १८ जेठ । स्विडेनको सार्वजनिक स्वास्थ्य एजेन्सीले आमाबाबुको मोबाइल फोन प्रयोगले बालबालिकाको व्यवहार, बानी र पारिवारिक अन्तरक्रियामा गम्भीर असर पार्न सक्ने निष्कर्ष सार्वजनिक गरेको छ। एजेन्सीले नयाँ मार्गनिर्देशन जारी गर्दै आमाबाबुलाई बालबालिकासँग समय बिताउँदा फोनको प्रयोग सीमित गर्न र सकेसम्म टाढा राख्न आग्रह गरेको हो।

सोमबार सार्वजनिक गरिएको नयाँ मार्गनिर्देशन स्क्रिन प्रयोगसम्बन्धी पछिल्ला वैज्ञानिक अनुसन्धानहरूमा आधारित रहेको जनस्वास्थ्य एजेन्सीले जनाएको छ। स्वास्थ्य प्राधिकरणले जारी गरेको वक्तव्यमा भनिएको छ, “जब तपाईं आफ्नो बच्चासँग हुनुहुन्छ, आफ्नो फोन टाढा राख्नुहोस्। आवश्यक परेमा मात्र वा बच्चासँगै मिलेर कुनै काम गरिरहेको अवस्थामा मात्र स्क्रिन प्रयोग गर्नुहोस्।”

एजेन्सीले आमाबाबुलाई आफ्नै दैनिक जीवनमा पनि ‘स्वस्थ स्क्रिन बानी’ विकास गर्न जोड दिएको छ। बालबालिकाले अभिभावकको व्यवहार प्रत्यक्ष रूपमा सिको गर्ने भएकाले वयस्कहरूको डिजिटल बानीले बालबालिकाको आचरण निर्माणमा महत्त्वपूर्ण भूमिका खेल्ने अनुसन्धानहरूले देखाएका छन्। अत्यधिक स्क्रिनमा व्यस्त रहने आमाबाबुका बालबालिकाहरूमा पनि त्यस्तै बानी विकास हुने र उनीहरूबीचको भावनात्मक सम्बन्धमा दूरी बढ्ने खतरा औँल्याइएको छ।

नयाँ सिफारिसमा घरभित्र शयनकक्ष (बेडरुम), खाना खाने टेबल वा परिवार सँगै समय बिताउने स्थानहरूलाई ‘स्क्रिन–मुक्त क्षेत्र’ (स्क्रिन फ्रि जोन) बनाउन सुझाव दिइएको छ।

एजेन्सीमा कार्यरत मनोचिकित्सक हेलेना फ्रिलिङ्स्डोर्फले भन्नुभयो, “बालबालिकाहरू वयस्कहरूले के भन्छन् भन्ने कुराले मात्र प्रभावित हुँदैनन्, उनीहरूले वयस्कहरूले के गर्छन् भन्ने कुरा पनि नजिकबाट हेरिरहेका हुन्छन्। त्यसैले दैनिक जीवनका यस्ता साना परिवर्तनले पारिवारिक अन्तरक्रिया र बच्चाको आफ्नै बानीमा दीर्घकालीन सकारात्मक प्रभाव पार्छ।”

हालका वर्षहरूमा स्विडेनले बालबालिकाको अत्यधिक स्क्रिन समय घटाउन विभिन्न नीतिगत कदमहरू चाल्दै आएको छ। यसअघि गत जनवरी महिनामा सरकारले कक्षा ९ सम्मका विद्यार्थीहरूका लागि विद्यालयभित्र स्मार्टफोन प्रयोगमा प्रतिबन्ध लगाउने योजना सार्वजनिक गरेको थियो। स्विडेनको यस नयाँ सिफारिसलाई परिवारभित्र प्रत्यक्ष संवाद, आपसी सहभागिता र स्वस्थ डिजिटल संस्कार प्रवर्द्धन गर्ने अभियानका रूपमा लिइएको छ।